काठमाडौँ । प्रमुख विपक्षी दलहरूले प्रधानमन्त्री बालेन्द्र साहको पछिल्लो अभिव्यक्तिलाई ‘‘राष्ट्रघाती’ ठहर गर्दै संसदको गतिरोध अन्त्यका लागि प्रधानमन्त्रीले माफी माग्नुपर्ने अडान कायमै राखेका छन् ।
मंगलवार सिंहदरबारस्थित नेपाली काँग्रेस संसदीय दलको कार्यालयमा बसेको नेकपा (एमाले), नेपाली काँग्रेस, नेपाली कम्युनिष्ट पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीको संयुक्त बैठकले यस्तो निष्कर्ष निकालेको हो ।
बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेकपा (एमाले) का मुख्य सचेतक ऐनबहादुर महरले प्रधानमन्त्रीले संसदको रोस्टमबाटै ‘नेपालले पनि भारतको भूमि मिचेको छ’ भन्ने अभिव्यक्ति दिनु राष्ट्रहित विपरीत रहेको बताए ।
साथै, सो अभिव्यक्तिलाई संसदको अभिलेखबाट हटाउनुपर्ने उनीहरूको अडान छ ।
उनले भने ‘आज प्रतिनिधिसभामा विपक्षी बेन्चमा रहेका दलहरूको बैठक नेपाली काँग्रेसको संसदीय दलको कार्यालयमा सम्पन्न भएको छ । नेपाली काँग्रेस, नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीबीच भर्खरै बैठक सम्पन्न भयो । श्रम संस्कृति पार्टीलाई पनि आमन्त्रण गरिएको थियो । तर उहाँहरू अर्को कार्यक्रममा व्यस्त भएकाले भौतिक रूपमा उपस्थित हुन सक्नुभएन । तथापि, बैठकबाट निस्किएका निष्कर्षहरूप्रति आफ्नो सहमति रहने र त्यसमा सहभागी हुने जानकारी उहाँहरूले गराउनुभएको छ ।’
प्रधानमन्त्रीले आफ्नो अभिव्यक्ति सच्याएमा संसदको गतिरोध हट्ने उनले बताए ।



प्रतिक्रिया