काठमाडौं । काठमाडौँ महानगरपालिकाले ‘टोलटोलमा फिल्म महोत्सव’ गर्ने भएको छ ।
चलचित्रका पेसाकर्मीलाई समुदायसँग जोड्ने र समुदायका तर्फबाट सम्मान गर्ने कार्यक्रमअन्तर्गत ‘‘टोलटोलमा फिल्म महोत्सव’ गर्न लागेको सम्पदा तथा पर्यटन समितिका संयोजक आशामान सङ्गतले जानकारी दिए ।
कामनपाको सम्पदा तथा पर्यटन विभागले कार्यान्वयनमा ल्याउन लागेको यो कार्यक्रमको अपेक्षित नतिजाका विषयमा कुरा गर्दै उनले फिल्म क्षेत्रलाई सम्मानित पेसाका रूपमा समुदायमा परिचित गराउनुपर्ने बताए ।
समुदाय स्तरमा फिल्म महोत्सवका कार्यक्रम सञ्चालन व्यवस्थापन गर्न कामनपाले सामाजिक तथा सांस्कृतिक क्रियाकलापमा आबद्ध गैरनाफामूलक सङ्घसंस्था, युथ क्लब, सामुदायिक संस्था, टोल विकास समिति, सांस्कृतिक समूह, पुचःलाई जिम्मेवारी दिने निर्णय गरेको छ ।
फिल्म देखाइने स्थानहरू परम्परागत टोल, वहाः, वही, चोक, ननी, एम्पीथिएटर, पार्कजस्ता खुला स्थान हुनेछन् । यस प्रयोजनका लागि कामनपाले खुला प्रस्ताव आह्वान गरेको छ ।
जेठ २७ गते राति १२ः०० बजे अगाडि इच्छुकले कामनपाको वेबसाइटमा दिइएको ठेगानाबाट प्रस्ताव दिन सक्नेछन् ।



प्रतिक्रिया