काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधि सभामा उठाएको सीमासम्बन्धी विषय मूलतः दशगजा क्षेत्र अतिक्रमण र क्रस बोर्डर अकुपेसनसँग सम्बन्धित रहेको स्पष्टीकरण दिएका छन् ।
राष्ट्रिय सभाको बिहीबारको बैठकलाई सम्बोधन गर्दै मन्त्री खनालले यस्तो बताएका हुन् । नेपाल–भारत सीमाअन्तर्गत सुस्ता, लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रमा मात्रै नक्शांकनको काम बाँकी रहेको उनले बताए ।
उनले दुई देशबीचको सीमालाई व्यवस्थित र वैज्ञानिक रूपमा व्यवस्थापन गर्न नक्शांकन नभएका क्षेत्रमा सीमा स्तम्भ निर्माण तथा मर्मत, दशगजा अतिक्रमणको तथ्याङ्क सङ्कलन र सीमा पारको अतिक्रमण अभिलेखीकरणको काम भइरहेको जानकारी दिए।
उनले भने हालको नेपाल–भारत अन्तर्राष्ट्रिय सीमा सन् १८१६ को सुगौली सन्धिद्वारा स्थापित र निर्देशित छ । नेपाल भारत सिमानाअन्तर्गत सुस्ता र लिम्पियाधुरा, लिपुलेक तथा कालापानी क्षेत्रमा नक्सांकन हुन बाँकी रहेको छ । ती स्थान बाहेक अन्य केही स्थानहरूमा क्रस बोर्डर अकुपेसन तथा दशगजा अतिक्रमणको समस्याहरू विद्यमान छन् । सम्माननीय प्रधानमन्त्रीज्यूले संसदमा उल्लेख गर्नुभएको विषय मूलतः दशगजा क्षेत्र अतिक्रमण र क्रस बोर्डर अकुपेसनसँग सम्बन्धित छ । नेपाल र भारतबीच रहेको लामो सिमानालाई व्यवस्थित र वैज्ञानिक ढंगले नक्सांकनन भएका क्षेत्रमा सीमा स्तम्भ निर्माण, मर्मत, दशगजा क्षेत्रको अतिक्रमण तथा क्रस बोर्डर अकुपेसनको लगत सङ्कलन गर्न दुई देशका सीमासम्बन्धी संयन्त्र र प्राविधिक टोलीहरू क्रियाशील छन् । लामो समयदेखि अवरुद्ध रहेको प्राविधिक समितिको काम हाल सीमा क्षेत्रमा क्रियाशील छ र संयुक्त रूपमा लगत गर्ने कार्य भइरहेको छ ।’



प्रतिक्रिया