काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का राष्ट्रिय सभाका संसदीय दलका नेता झक्कुप्रसाद सुवेदीले बालेन्द्र साहको कार्यशैली र अभिव्यक्तिको कडा आलोचना गरेका हुन् ।
राष्ट्रिय सभाको बिहीबारको बैठकमा विशेष समय लिएर बोल्दै उनले बालेन जस्तो व्यक्ति मुलुकको प्रधानमन्त्री हुनु नै नेपाली नागरिकका लागि ठुलो दुर्भाग्य भएको टिप्पणी गरे।
प्रधानमन्त्री साहले नेपाल र भारतबिचको सीमा समस्याका विषयमा संसद्मा दिएको अभिव्यक्ति आपत्तिजनक भएको र संसद्को अभिलेखबाट तत्काल हटाउनुपर्ने बताए । मुलुकको सर्वोच्च कार्यकारी पदमा बसेको व्यक्तिले राष्ट्रियता र मातृभूमिसँग सम्बन्धित संवेदनशील विषयमा यसरी गैरजिम्मेवार टिप्पणी गर्न नहुने उनको भनाइ छ।
उनले संसद्मा भने,‘सम्माननीय प्रधानमन्त्री बालेन्द्र शाहज्यूजस्ता व्यक्ति प्रधानमन्त्री हुनु नेपाली जनताको लागि बडो ठुलो दुर्भाग्य हो । नेपालले भारतको जग्गा कहाँ, कति मिचेको छ ? नेपाली जनतालाई जानकारी गराउनुपर्छ । अध्यक्ष महोदय मातृभूमिसँग कुनै वस्तुको तुलना हुन सक्दैन । हरेक नेपालीको रगतमा देशभक्तिपूर्ण भावना जीवन्त छ । सम्माननीय प्रधानमन्त्रीज्यू तपाईंले संसद्मा क्षमा माग्नुपर्छ । प्रधानमन्त्रीज्यूको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउनुपर्छ । तपाईँले देशमाथि ठट्टा गर्नुभयो । हाम्रा पुर्खाले रगत बगाएर बनेको देश हो यो । राष्ट्र र राष्ट्रियतामाथि देशको प्रधानमन्त्रीले धावा बोल्न पाइँदैन ।’



प्रतिक्रिया