काठमाडौँ । आज(शुक्रबार) देशभरका अधिकांश प्रमुख सहरहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने पूर्वानुमान गरिएको छ।
आज दिउँसोको समयमा जुम्ला, पोखरा, काठमाडौँ, ओखलढुङ्गा, धनकुटा, जिरी र ताप्लेजुङमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने पूर्वानुमान छ। पोखरामा वर्षा हुने सम्भावना सबैभन्दा धेरै अर्थात् ६० प्रतिशत रहेको छ।
त्यसैगरी डडेल्धुरा, दिपायल, धनगढी, वीरेन्द्रनगर, नेपालगन्ज, घोराही, सिमरा, विराटनगर, जोमसोम, धरान र जनकपुरमा दिउँसो मेघगर्जनसहित हल्का वर्षा हुने सम्भावना छ। दिउँसोको समयमा भैरहवामा भने पानी पर्ने सम्भावना शून्य रहेको छ, त्यहाँ आंशिक रूपमा मात्र बादल लाग्नेछ।
तापक्रमको अवस्था हेर्दा आज दिउँसो धनगढीको अधिकतम तापक्रम ३३ देखि ३५ डिग्री सेल्सियससम्म पुग्ने अनुमान छ जुन देशभरकै उच्च हो। त्यसैगरी नेपालगन्ज र भैरहवाको तापक्रम पनि ३२ देखि ३४ डिग्री सेल्सियसको बिचमा रहनेछ।
सङ्घीय राजधानी काठमाडौँको अधिकतम तापक्रम भने २६ देखि २८ डिग्री सेल्सियसको बिचमा रहने पूर्वानुमान गरिएको छ। सबैभन्दा कम तापक्रम डडेल्धुरा र जुम्लामा २० देखि २२ डिग्री सेल्सियस रहनेछ।
आज रातिको समयमा भने पश्चिमी क्षेत्रका केही सहरहरूमा मौसम खुल्नेछ। डडेल्धुरा, दिपायल, धनगढी र जुम्लामा राति पानी पर्ने सम्भावना छैन, त्यहाँ आंशिकदेखि साधारणतया मात्र बादल लाग्नेछ। यद्यपि दिउँसो पानी पर्ने सम्भावना नभएको भैरहवामा भने राति मेघगर्जनसहित हल्का वर्षा हुने पूर्वानुमान छ।
रातिको समयमा विराटनगर, ओखलढुङ्गा, जिरी र ताप्लेजुङमा मध्यम वर्षा हुनेछ भने काठमाडौँ, पोखरा लगायत बाँकी अन्य सहरहरूमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुने सम्भावना रहेको छ।




प्रतिक्रिया