नेपाल–भारत सीमापार रेलवे परियोजनाबारे उच्चस्तरीय बैठक


काठमाडौं । नेपाल–भारतबीच सीमापार रेलवे परियोजनाबारे काठमाडौंमा उच्चस्तरीय बैठक सम्पन्न भएको छ।

भारतीय दूतावासका अनुसार जेठ २८ र २९ गते काठमाडौंमा आयोजित १०औँ परियोजना निर्देशक समिति (पीएससी) र ८औँ संयुक्त कार्यदल (जेडब्लूजी) को बैठकमा सञ्चालनमा रहेका तथा प्रस्तावित रेल परियोजनाहरूको विस्तृत समीक्षा गरिएको हो।

बैठकमा भारत सरकारको अनुदान सहयोगमा निर्माण भइरहेको जयनगर–विजलपुरा–बर्दिबास तथा जोगवनी–विराटनगर ब्रोडगेज रेलवे लाइनको कार्यान्वयन अवस्थाबारे छलफल गरिएको थियो। साथै सीमापार रेल सेवा विस्तार र द्विपक्षीय रेल सहकार्यलाई थप प्रभावकारी बनाउने विषयमा पनि विचार–विमर्श भएको दूतावासले जनाएको छ।

छलफलका क्रममा जनकपुर–अयोध्या यात्रु रेल सेवा सञ्चालनका लागि आवश्यक प्रक्रिया, रक्सौल–काठमाडौं ब्रोडगेज रेलवे लिंकको अन्तिम सर्वेक्षण प्रतिवेदन, पूर्व–पश्चिम रेलवे परियोजनाका लागि प्राविधिक सहयोग तथा थप सीमापार रेलमार्ग विकासका सम्भावनाबारे पनि चर्चा भएको थियो।

भारतीय प्रतिनिधिमण्डलको नेतृत्व भारतको विदेश मन्त्रालयका सहसचिव रोहित रथीश ले गरेका थिए भने भारतको रेल मन्त्रालयका कार्यकारी निर्देशक प्रदीप ओझा पनि सहभागी थिए।

बैठकमा नेपाली पक्षको नेतृत्व भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव सुशील बाबु ढकाल ले गरेका थिए। नेपाली पक्षले निर्माणाधीन रेलमार्गका बाँकी खण्डहरूमा काम शीघ्र अघि बढाउन आवश्यक सहजीकरण उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ।

Skip This

Omoda E5 Pro