महिलाको टेम्पो कर्मचारीले खसालिदिएपछि कार्यालयले भन्यो-‘पन्छाउन खोज्दा अनियन्त्रित भयो’


कैलाली । डिभिजन वन कार्यालय कैलालीले गोदावरी नगरपालिका–४ स्थित गोदावरी सामुदायिक वन क्षेत्रमा भएको टेम्पु भीरबाट खसालेको भन्ने घटनाबारे सामाजिक सञ्जालमा फैलिएको समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

कार्यालयले एक प्रेस विज्ञप्ति जारी गर्दै सामाजिक सञ्जालमा दाबी गरिएजस्तो उक्त टेम्पु गुड्ने वा चालु हालतमा रहेको सवारी साधन नभई, केबल वन क्षेत्र अतिक्रमण गरी पसल सञ्चालन गर्न राखिएको एउटा गुड्न नमिल्ने कवाडी संरचना मात्र रहेको दाबी गरेको छ ।

कार्यालयका अनुसार उक्त क्षेत्र अत्यन्तै संवेदनशील तथा कमजोर पर्यावरणीय प्रणाली भएको चुरे क्षेत्रभित्र पर्छ। यस क्षेत्रमा सार्वजनिक वन क्षेत्र अतिक्रमण गरी अवैध रूपमा टहरा तथा संरचना निर्माण गर्ने कार्य विगत लामो समयदेखि हुँदै आएको र वन प्रशासनले समय–समयमा नियन्त्रण गर्दै आएको जनाएको छ।

विज्ञप्तिमा उल्लेख गरिएअनुसार करिब पाँच महिनाअघि सो क्षेत्रमा पुनः अवैध टहरा निर्माण गरिएको थियो। सामाजिक सञ्जालमा प्रचार गरिएजस्तो कुनै सवारीसाधन गुड्ने वा सञ्चालनमा रहेको संरचना नभई, वन अतिक्रमण गर्ने उद्देश्यले बनाइएको अस्थायी टहरा मात्र रहेको कार्यालयको दाबी छ।

शुक्रबार वन टोलीले पुनः अतिक्रमण हटाउने अभियान सञ्चालन गरेको थियो। सो क्रममा गुड्न नसक्ने उक्त कवाडी ट्याम्पोलाई बल प्रयोग गरी पन्छाउन खोज्दा भिरालो भौगोलिक सतह र असन्तुलनका कारण सो अस्थिपञ्जर अनियन्त्रित भई दुर्घटना बस भीरबाट खस्न पुगेको कार्यालयले जनाएको छ।