रास्वपा मधेस प्रदेशको अधिवेशन तत्काल नहुने


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) को असार ७, ८ र ९ गते चितवनमा राष्ट्रिय महाधिवेशन हुँदैछ ।

बागमती प्रदेश, कोशी प्रदेश र गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा नयाँ नेतृत्व चुनिएको छ । कर्णाली प्रदेशमा आइतबार र सुदूरपश्चिम प्रदेशमा भोलि(सोमबार) अधिवेशन हुँदैछ ।

यसैबीच मधेस प्रदेश अधिवेशन राष्ट्रिय महाधिवेशनअघि नहुने भएको छ । निर्वाचन आयोगले जेठ २६ गते एक सूचना जारी गर्दै अधिवेशनको निष्पक्ष, पारदर्शी, विश्वसनीय तथा विधिसम्मत सञ्चालन सुनिश्चित गर्न आवश्यक देखिएकाले मधेस अधिवेशनको सम्पूर्ण गतिविधि स्थगित गरिएको जानकारी दिएको थियो ।

आयोगका प्रमुख भुवन केसीले राष्ट्रिय महाधिवेशनको मिति नजिकिएकाले मधेसको अधिवेशन तत्काल हुने सम्भावना नरहेको जानकारी दिए ।

मधेस प्रदेशमा विवाद तथा दुई पक्षीय झडपका कारण पर्सा बाहेक अन्य ७ जिल्लाको अधिवेशन पनि स्थगित भएको थियो । यद्यपि, महाधिवेशन अगावै अधिवेशन सम्पन्न गर्न पार्टी नेतृत्व र निर्वाचन अयोगसँग पहल भइरहेको प्रदेशका महामन्त्री मनिषकुमार साहले बताए ।