भारतले गर्यो नेपाली चिया निर्यातमा अवरोध: उद्योगीहरूले गरे उद्योग नै बन्द गर्ने घोषणा


विराटनगर । भारतीय पक्षले नेपाली चिया निर्यातमा अवरोध गरेपछि उद्योगीहरूले उद्योग बन्द गर्ने घोषणा गरेका छन् । इलामको सूर्योदय नगरपालिकाका उद्योगीहरूले आउँदो असार १ गतेदेखि कारखाना बन्द गर्ने निर्णय गरेका हुन् ।

देश भरको चिया उद्योगीहरूको संस्था सूर्योदय टी प्रोड्युसर्स एसोसिएसन नेपालले शनिबार एक प्रेस विज्ञप्ति जारी गरी आउँदो असार १ गते देखि चिया उद्योगहरू बन्द गर्नुपर्ने बाध्यात्मक अवस्था आएको जनाएको छ ।

विज्ञप्तिमा भारतीय टी बोर्डले स्ट्यान्डर्ड अपरेटिंग प्रोसिजर जारी गरेपछि नेपाली चिया निर्यातमा ठुलो बाधा पुगेको उल्लेख छ । विज्ञप्तिमा जटिल गुणस्तर जाँचको बहानामा भारतीय बजारमा पुगेको २ लाख किलो भन्दा बढी तयारी चिया भारतीय गोदाममै थन्किएको र नमुना परीक्षणका लागि लगिएको चियाको महिना दिन सम्म रिपोर्ट नदिएको जनाइएको छ ।

यस्तो परिस्थितिमा उद्योगहरूले किसानको चियाको भुक्तानी समेत गर्न नसकेको कारण उद्योगहरू बन्द गर्न बाध्य भएको जनाइएको छ । अहिले नेपालका उद्योगहरूमा दश लाख किलो भन्दा बढी तयारी चिया रहेको बताइएको छ ।