काठमाडौं । नेपाली काँग्रेसकी सांसद रेनुका काउचाले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाएकी छन् ।
सोमबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै काउचाले सीमा क्षेत्रमा नेपाली नागरिकले असुरक्षित महसुस गरिरहँदा पनि सरकार मूकदर्शक बनेको टिप्पणी गरिन् ।
उनले प्रधानमन्त्रीले केही समयअघि दिएको ‘नेपालले पनि भारतको सीमा मिचेको’ भन्ने अभिव्यक्तिपछि पश्चिम नवलपरासीको सुस्ता क्षेत्रमा भारतीय सीमा सुरक्षा बल (एसएसबी) को टोली नेपाल प्रवेश गरेको उनले दाबी गरिन् । ‘गत जेठ १७ र २९ गते सुस्तामा एसएसबी प्रवेश गर्दा स्थानीयले प्रतिकार गरे, तर आफ्ना नागरिकलाई ढाडस दिनुपर्ने सरकार यस विषयमा किन मौन छ ?’ उनले प्रश्न गरिन् ।
सांसद काउचाले संसद् र आम नागरिकलाई उपेक्षा गर्ने सरकारी प्रवृत्ति गैरजिम्मेवारीपनको पराकाष्ठा भएको उल्लेख गर्दै सीमा सुरक्षा, मानवअधिकार प्रतिवेदन र मन्त्रीहरूसम्बन्धी छानबिनका विषयमा सरकारले अविलम्ब सदनलाई स्पष्ट जवाफ दिनुपर्ने बताइन्।



प्रतिक्रिया