काठमाडौं । भारतीय पक्षले नेपाली चिया निकासीमा विभिन्न बहानामा अवरोध सिर्जना गरेपछि सोमबार (आज) देखि इलामका चिया उद्योगहरू बन्द भएका छन् ।
भारतले गुणस्तर जाँचको बहानामा डेढ महिनादेखि नेपाली चिया निर्यातमा अड्चन खडा गरेपछि उद्योगीहरूले आजदेखि उद्योग बन्द गर्ने निर्णय गरेका हुन् ।
निकासीमा अवरोध हुँदा उत्पादित चियाले बजार पाउन सकेको छैन, जसका कारण चिया गोदाममै बिग्रने जोखिम बढेपछि यस्तो कठोर कदम चाल्न बाध्य भएको व्यवसायीहरूले बताएका छन् ।
पहाडी भेगका अर्थोडक्स चिया उद्योगहरू आजैबाट बन्द भएका छन् भने तराईका सीटीसी चिया उद्योगहरू ४ असारदेखि बन्द हुने नेपाल चिया उत्पादक संघका वरिष्ठ उपाध्यक्ष शिवकुमार गुप्ताले बताए ।
संघका अनुसार इलाममा वार्षिक ६५ लाख किलो र झापामा वार्षिक २ करोड किलो चिया उत्पादन हुँदै आएको छ । यहाँ उत्पादित चियाको ९० प्रतिशत बजार भारत हो ।
चिया उद्योगमा यति ठूलो समस्या आइपर्दा पनि सरकारले निर्यात सहजीकरणका लागि कुनै कूटनीतिक पहल नगरेको उद्योगीहरुले गुनासो गरेका छन्।



प्रतिक्रिया