सम्पत्ति शुद्धीकरणमा मुद्दा चलाइएका दीपक भट्ट र सुलभ अग्रवालको आज विशेष अदालतमा थुनछेक बहस


काठमाडौँ । सम्पत्ति शुद्धीकरणमा मुद्दा चलाइएका व्यवसायी दीपक भट्ट र सुलभ अग्रवालको आज विशेष अदालतमा थुनछेक बहस हुँदैछ । विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट, सदस्य न्यायाधीशहरू उमेश कोइराला र विदुर कोइरालाको इजलासमा आज बयान सकिएपछि थुनछेक बहस हुनेछ । थुनछेक बहसपछि अदालतले थुनामा पठाउने या धरौटीमा छाड्ने कुनै एक निर्णय गर्नेछ ।

सोमबार बयान नसकिएपछि दुवै जनालाई न्यायिक हिरासतमा पठाइएको थियो । प्रतिवादी बनाइएका भट्टमाथि सम्पत्ति शुद्धीकरण बापत २६ अर्ब ६३ करोड २७ लाख ७१ हजार, ५९ रुपैयाँ ६८ पैसा बिगो दाबी गरिएको छ ।

सम्पत्ति शुद्धीकरण मुद्दामा दीपक भट्ट, शंकर ग्रुपका सञ्चालक सुलभ अग्रवाल र शंकरलाल अग्रवाल, सन्दीप चाचन अग्रवाल र अमित मोर सहितलाई प्रतिवादी कायम गरिएको छ । सन्दीप चाचन ब्रोकिङ कम्पनी दलाल नम्बर ५५ को अध्यक्ष हुन् ।

हिमालयन रि–इन्स्योरेन्स सहितका कम्पनीहरूको रकम दुरुपयोग गरेर सम्पत्ति शुद्धीकरण गरेको कसुरमा उनीहरुविरुद्ध मुद्दा दर्ता गरेको हो । सम्पत्ति शुद्धीकरण मुद्दामा अनुसन्धान गर्न दीपक भट्टलाई चैत १९ मा पक्राउ गरिएको थियो । शंकर ग्रुपका सञ्चालक सुलभ अग्रवाल चैत २२ मा पक्राउ परेका थिए ।