परीक्षा प्रणाली सुधार्दै कृषि विश्वविद्यालय


चितवन । चितवन जिल्लास्थित कृषि तथा वन विज्ञान विश्वविद्यालयले परीक्षा प्रणालीलाई छिटो छरितो बनाउन सुरु गरेको छ।

विश्वविद्यालयका आठ आङ्गिक र आठ सम्बन्धन प्राप्त कलेज छन् । सबैभन्दा बढी कृषिका विद्यार्थी अध्ययनरत छन् । एउटै सङ्कायको नतिजा आउन वर्ष दिनसम्म लाग्ने गरेकामा अहिले दुई महिनाभित्रमा नतिजा आउनेगरी काम सुरु गरिएको छ।

विश्वविद्यालयका परीक्षा नियन्त्रक प्रा।डा। मनोज शाहले एकै समयमा परीक्षा सम्पन्न भएका परीक्षार्थीको नतिजा एकैपटक हुनेगरी काम भइरहेको बताए ।

विश्वविद्यालयमा कृषि सङ्काय, पशु विज्ञान, पशु चिकित्सा तथा मत्स्य विज्ञान सङ्काय र वन विज्ञान सङ्काय स्नातक, स्नातकोत्तर र विद्यावारिधि पढाइ हुँदै आएको छ।

विश्वविद्यालयका रजिष्ट्रार प्रा डा सुविर सिंहले थोरै विद्यार्थी भएकाहरूको सेमेष्टरको नतिजा एक महिनाभित्रमा र धेरै विद्यार्थी भएका सङ्कायको दुई महिनाभित्रमा नतिजा प्रकाशन गर्न सुरु गरिएको जानकारी दिए। उनले भने, “थोरै विद्यार्थी भएका स्नातकोत्तर र विध्यावारिधिको परीक्षा सकिएको एक हप्तामा नै नतिजा दिन थालिएको छ ।”

गत वैशाख ३० गते उपकुलपतिमा नियुक्त हुनुभएका प्रा डा होमबाहादुर बस्नेत एक महिनामा नै नतिजा आउनेगरी काम भइरहेको बताउँछन्। रासस