काठमाडौं, असार २ । सूचना तथा सञ्चार मन्त्रालयले गोरखापत्र संस्थानको महाप्रबन्धक पदका लागि सर्टलिस्ट (अल्पसूची) मा परेकाहरूलाई अन्तर्वार्तामा बोलाएको छ। मन्त्रालयले मंगलबार एक सूचना जारी गर्दै छनौटमा परेका १० जनालाई प्रस्तुतीकरण र अन्तर्वार्ताका लागि बोलाएको हो।
मन्त्रालयले असार १० गते उम्मेदवारहरूको व्यावसायिक कार्ययोजना प्रस्तुतीकरण तथा अन्तर्वार्ताका लागि सिंहदरबार बोलाएको हो । प्रस्तुतीकरण र अन्तर्वार्ताका लागि नारायण प्रसाद सापकोटा, भेषराज पाण्डे, राजन नेपाल, रामचन्द्र अर्याल, रुद्र बहादुर खड्का, लक्ष्मण कार्की, विश्वराज खनाल, शन्तराम विडारी, शिव कुमार भट्टराई र हिक्मत बहादुर रावललाई तोकिएको समय भन्दा ३० मिनेट अगावै व्यावसायिक कार्ययोजना प्रस्तुतीकरणको सफ्टकपी र आवेदन साथ पेश गरिएका सम्पूर्ण कागजातहरुको सक्कल प्रति सहित उपस्थित हुन निर्देशन जारी भएको छ ।
संस्थानको रिक्त महाप्रबन्धक पदका लागि ३५ जनाको आवेदन परेको थियो । मन्त्रालयले गत जेठ ७ गते जारी गरेको सार्वजनिक सूचनाबमोजिम तोकिएको अवधिभित्र ३५ जनाले आवेदन दिएका थिए। जसमध्ये १० जनाको अल्पसूची सार्वजनिक गरिएको हो ।
छनोट प्रक्रियाअनुसार अब आवेदकहरूको कार्य योजना र प्रस्तुतीकरणको मूल्याङ्कनका आधारमा छनोट समितिले नियुक्तिका लागि तीन जनाको नाम सिफारिस गर्नेछ । ती सिफारिस भएका नाममध्येबाट एक जनालाई महाप्रबन्धक पदमा नियुक्त गरिनेछ ।
अल्पसूचीमा यसअघि सार्वजनिक सर्ट लिस्टमा परेका गोरखापत्रकै कर्मचारी प्रकृती अधिकारी र तुल्सीहरी कोइरालाको नाम भने समावेश छैन् । सार्वजनिक सूचीमा रहेका शिव कुमार भट्टराई गोरखापत्रकै पूर्व निमित्त सम्पादक हुन् ।




प्रतिक्रिया