काठमाडौं, असार ३ । दाङको तुलसीपुरमा एक युवतीलाई खुकुरी देखाएर डर–धम्की दिँदै कुटपिट गरेको भिडियो सामाजिक सञ्जालमा पोस्ट गर्ने युवक लागुऔषधसहित पक्राउ परेका छन् ।
जिल्ला प्रहरीका अनुसार तुलसीपुर उपमहानगरपालिका–२ भंके बस्ने २४ वर्षीय रमेश ठाडा मगरलाई इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरी टोलीले मंगलबार राति नियन्त्रणमा लिएको हो ।
प्रहरीका अनुसार मगरले करिब तीन महिनाअघि तुलसीपुरकि २१ वर्षीय एक युवतीलाई जंगल क्षेत्रमा लगेर खुकुरी देखाउँदै डर–धम्की दिएका थिए । सोही क्रममा युवतीमाथि कुटपिट गरिएको भिडियो मंगलबार बेलुका करिब ८ः३० बजे उनले आफ्नै फेसबुक आइडीमार्फत सार्वजनिक गरेका थिए । भिडियोमा ठाडा मगरले गालीगलौज गर्दै युवती माथि चक्कु प्रहार गरेको तथा युवती रुँदै `अब गर्दिनँ´भन्दै अनुरोध गरिरहेको दृश्य देखिएको छ ।
भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको टोलीले मंगलबार राति करिब १०ः४० बजे मगरको घरमा खानतलासी गर्दा लागुऔषधका रूपमा दुरुपयोग हुने विभिन्न ट्याब्लेट फेला पारेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार उनको साथबाट Pregamax १ ट्याब्लेट, Trohmo ४१ ट्याब्लेट, Antikop २ ट्याब्लेट र Nitrazohm ५ ट्याब्लेट बरामद गरिएको छ । बरामद औषधि तथा घटनामा उनको संलग्नताबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



प्रतिक्रिया