‘प्रधानमन्त्री चिया पसलमा गएर चिया पिउन भ्याउनुहुन्छ,तर बन्द भएको चिया उद्योग खोल्नुहुन्न’


काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक निश्कल राईले नेपाली चिया निर्यातमा भारतको अवरोध खुलाउने विषयमा सरकार गम्भीर नभएको आरोप लगाएका छन्।

बुधबार बसेको, प्रतिनिधिसभाको बैठकमा बोल्दै राईले भारतीय अवरोधले नेपाली चिया उद्योग बन्द भएको ३ दिन भइसक्दा पनि सरकारले आवश्यक पहल नगरेको बताए।

सामाजिक सञ्जालमा प्रधानमन्त्री चिया पसलमा गएर चिया पिएको देखिए पनि चिया उद्योग र किसानको समस्या समाधानमा भने ध्यान नदिएको टिप्पणी गरे।

‘मैले योसँग सातौँ पल्ट भयो कुरा उठाएको। प्रधानमन्त्री मन्त्रीहरूलाई लिएर देश बनाउँदै हुनुहुन्छ। सामाजिक सञ्जालमा हेरेर थाहा पाएको, उहाँ चिया पसलमा गएर चिया पिउन पनि भ्याउनुहुन्छ। तर वार्षिक ३ करोड बढी तयारी चिया निर्यात हुने र अर्थतन्त्रको मेरुदण्डको रूपमा रहेको चिया उद्योगी र किसानको समस्या समाधान गर्न उहाँले फुर्सद पाएको देखेको छैन,’ उनले भने ।