काठमाडौँ । उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुमा कार्यरत प्रहरी निरीक्षक (इन्स्पेक्टर) सन्तोष कुमार खड्का जेठ महिनाको ‘उत्कृष्ट प्रहरी’ (BEST POLICE OF THE MONTH) घोषित भएका छन्।
कार्यालयले खड्काको कर्तव्यनिष्ठा, इमान्दारिता, व्यावसायिक दक्षता र उत्कृष्ट कार्यसम्पादनको कदर गर्दै उक्त सम्मान प्रदान गरेको हो। भीड व्यवस्थापनमा कुशल, अपराध अनुसन्धानमा अब्बल र नागरिक सुरक्षाप्रति सदैव समर्पित अधिकृतका रूपमा चिनिने प्रहरी निरीक्षक खड्काले जटिल परिस्थितिमा पनि शान्त र चुनौतीपूर्ण घटनाहरूमा सक्रिय भूमिका निर्वाह गर्दै आएका छन्।
‘सत्यको खोजीमा निरन्तर अग्रसर रहँदै उहाँले व्यावसायिकता, नेतृत्व क्षमता र कर्तव्यनिष्ठाको उत्कृष्ट उदाहरण प्रस्तुत गर्नुभएको छ,’ अपराध अनुसन्धान कार्यालयका एक उच्च अधिकारीले भने, ‘यस सम्मानले उहाँलाई आगामी दिनमा अझ उच्च मनोबलका साथ राष्ट्र र नागरिकको सेवामा समर्पित रहन प्रेरणा मिल्ने विश्वास लिएका छौँ।’
निरीक्षक खड्काले समुदायमा सुरक्षा र जनविश्वासको वातावरण निर्माण गर्न पुर्याएको योगदानको सङ्गठनभित्र र बाहिरसमेत प्रशंसा हुने गरेको छ। यस्ता समर्पित र परिणाममुखी सेवाले नेपाल प्रहरीप्रतिको जनविश्वासलाई अझ सुदृढ बनाएको कार्यालयले जनाएको छ।



प्रतिक्रिया