सामाजिक सञ्जालको दुरूपयोग गरी ठगी गर्ने दुई जना पक्राउ


झापा : सामाजिक सञ्जालको दुरूपयोग गरी ठगी गरेको अभियोगमा २ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं माछापोखरी बस्ने स्याङ्जा भीरकोट नगरपालिका-२ लुगाडाँडा घर भएका ३९ वर्षीय संजिव नेपाली र काभ्रेपलाञ्चोक मण्डनदेउपुर नगरपालिका-१२ घर भएकी ३३ वर्षीया अनुष्का भन्ने सरिता पराजुली रहेका छन् ।

आफू अमेरिकामा रहेको नेपाली बोल्न नआउने भनि अंग्रेजी भाषामा बोली प्रिन्स तमाङ नाम बताउने टिकटक आइडीबाट आफ्नो अनुहार समेत नदेखाई कुराकानी गरी पीडितलाई विवाह गरी अमेरिका लाने प्रलोभन/आश्वासन देखाई पटक पटक गरी      १५ लाख १० हजार ५ सय रूपैयाँ ठगी गरेको भन्ने पीडितको उजुरीको आधारमा साइबर ब्यूरोबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनीहरूलाई पक्राउ गरेको हो । 

उनीहरू उपर विद्युतीय माध्यम सम्वद्ध ठगी अपराध मुद्दामा जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।