मधेशमा रास्वपाको सांगठनिक संकटको भित्री कथा


काठमाडौँ । उदार लोकतन्त्र र डिजिटल प्रणालीको जगमा वैकल्पिक राजनीतिको नारासहित उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का लागि मधेश प्रदेश संगठनात्मक रूपमा सबैभन्दा प्रत्युत्पादक साबित हुन थालेको छ। पहिलो राष्ट्रिय महाधिवेशनको संघारमा उभिएको रास्वपाले देशका अन्य क्षेत्रमा सांगठनिक संवेग बढाउँदै लैजाँदा मधेशका आठ जिल्लामध्ये सात जिल्ला अझै नेतृत्वविहीन छन्। मधेशको यो संगठनात्मक गतिरोध र चुलिँदो आन्तरिक कलह सुल्झाउन अन्ततः सभापति रवि लामिछाने आफैँ अगाडि सर्नुपरेको छ।
बुधबार बिहान काठमाडौँमा आयोजित एक बन्दसत्र छलफलमा सभापति लामिछानेले मधेश प्रदेशका पार्टी सांसदहरूसँग मधेशको कठिन सांगठनिक धरातलबारे संवाद गरे। उक्त बैठकमा सांसदहरूले मधेशको सामाजिक–सांस्कृतिक बनोट र रास्वपाको केन्द्रीय प्राविधिक मोडलबीच ठूलो खाडल रहेको यथार्थ ब्रिफिङ गरेका थिए।
मधेशका सांसदहरूले पार्टीको केन्द्रीकृत अनलाइन सदस्यता प्रणालीमाथि नै गम्भीर प्रश्न उठाएका छन्। रास्वपाको मोबाइल एप र अनलाइन पोर्टलबाट सदस्यता बाँड्ने नीति मधेशको सामाजिक र प्राविधिक चेतनासँग मेल नखाएको उनीहरूको निष्कर्ष छ। बैठकमा सहभागी एक सांसदका अनुसार, यो प्रणालीको चरम दुरुपयोग भइरहेको छ। मधेशमा प्रविधिको पहुँच भएका केही सीमित व्यक्ति वा समूहले अरूको नाममा आफैँ अनलाइन आवेदन भरेर कागजी संगठन खडा गर्ने र जिल्ला अधिवेशनमा आफ्नो बर्चस्व कायम गर्ने प्रपञ्च रचिएको गुनासो सभापति लामिछानेसमक्ष राखिएको छ। यसले गर्दा पार्टीको वास्तविक जनाधार भएका र प्रविधिमा कमजोर रहेका भुइँतहका कार्यकर्ता किनारा लाग्ने जोखिम बढेको छ।
बैठकमा रास्वपाभित्र देशव्यापी रूपमा देखिन थालेको पुराना र नयाँबीचको अन्तरद्वन्द्व मधेशमा अझ उग्र रूपमा प्रकट भएको विवरण प्रस्तुत गरियो। निर्वाचनअगाडिको कठिन परिस्थितिमा ज्यान फालेर चुनावी अभियानमा होमिएका पुराना कार्यकर्ता र निर्वाचनपछि पार्टीको लहर देखेर भित्रिएका नयाँ महत्वाकांक्षी सदस्यहरूबीच नेतृत्व हत्याउने होडबाजी चलेको छ। चुनावी कमान्डरहरूलाई उपेक्षा गरेर भर्खरै पार्टी छिरेकाहरूलाई ओतप्रोत गराउँदा निष्ठावान् कार्यकर्ताहरूमा व्यापक असन्तुष्टि फैलिएको छ, जसको प्रत्यक्ष असर जिल्ला अधिवेशनहरूमा देखिएको छ।
वैकल्पिक राजनीतिको दाबी गर्ने रास्वपा पनि मधेशको परम्परागत जातीय राजनीतिको चंगुलबाट उम्किन नसकेको गम्भीर आरोप लागेको जनाइएको छ । सांसदहरूले मधेश प्रदेशका पार्टी सभापति तपेश्वर यादवको कार्यशैलीप्रति तीव्र असन्तुष्टि जनाएका छन्।
प्रदेश सभापति यादवले संगठन सञ्चालनमा जिल्ला र केन्द्रका नेताहरूलाई बाइपास गरी एकलौटी निर्णय गर्ने गरेको दाबी गरिएको छ।
सांगठनिक पदहरूमा योग्यता र सक्रियताभन्दा पनि जातीय राजनीतिक प्रवृत्तिलाई प्रश्रय दिएको आरोप लागेको छ। मधेशको भविष्य तय गर्न बसेको समीक्षा बैठकमा स्वयं प्रदेश सभापति यादव भने अनुपस्थित थिए।
हाल मधेशका आठ जिल्लामध्ये पर्सामा मात्र रास्वपाले जिल्ला अधिवेशन सम्पन्न गर्न सकेको छ। बाँकी सात जिल्लामा अधिवेशन प्रक्रिया शुरु भए पनि आन्तरिक गुटबन्दी, विवाद र कुटाकुटको स्थिति आएपछि नेतृत्व चयन नै हुन नसकी प्रक्रिया स्थगित अवस्थामा छ।
राजनीति डिजिटल एप र काठमाडौँबाट मात्र चल्दैन, यसका लागि प्रादेशिक र भुइँ तहको जटिल सामाजिक बनोटलाई बुझ्नुपर्छ भन्ने प्रमाण मधेशले दिएको छ। रवि लामिछानेको सक्रियताले मधेशमा रास्वपाको यो संगठनको खडेरी टार्छ या नयाँ विवादको बीजारोपण गर्छ, त्यो भने हेर्न बाँकी छ।