पूर्वका चिया उद्योगहरू धमाधम बन्द, सरकारले चालेन कुनै कदम


काठमाडौं । पूर्वका चिया उद्योगहरू धमाधम बन्द हुन थालेका छन् । भारतले नेपाली चिया निर्यातमा रोक लगाएपछि चिया उद्योगहरू बन्द हुन थालेको हो ।

१ असारदेखि इलामका ५६ उद्योग बन्द भएकोमा आज (४ असार) देखि झापाका ३० भन्दा बढी चिया उद्योग र करिब दुई दर्जन चिया बगानहरू पनि पूर्णरूपमा बन्द भएका छन् ।

चियाको पकेट क्षेत्र मानिने इलाम र झापामा उत्पादित चिया गोदाममै थन्किएपछि र सरकारले कूटनीतिक पहलमा बेवास्ता गरेपछि बाध्य भएर आजैदेखि उद्योग बन्द गर्नुपरेको नेपाल चिया उत्पादक संघले जनाएको छ ।

भारतले गरेको अवरोध खुलाउन बारम्बार सरकारी निकायमा धाउँदा पनि कुनै सुनुवाइ नभएपछि व्यवसायीहरू यो कदम चाल्न बाध्य भएको संघ अध्यक्ष आदित्य पराजुलीले बताए ।