काठमाडौँ । जलवायु परिवर्तनको बढ्दो असर र बदलिँदो मौसमी चक्रका बीच नेपालमा यसवर्षको प्रि–मनसुन यामले विगत साढे चार दशककै ऐतिहासिक रेकर्ड तोडेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार नेपालमा यस वर्ष विगत ४५ वर्षयताकै सबैभन्दा बढी प्रि–मनसुन वर्षा मापन भएको हो ।
देशभरका अधिकांश भू–भागमा यो वर्ष औसतभन्दा उल्लेख्य बढी पानी परेको विभागको तथ्याङ्कले देखाउँछ, जसले आगामी मनसुन झन् आक्रामक हुन सक्ने संकेत गरेको छ ।
मौसम पूर्वानुमान महाशाखाका मौसमविद्हरूका अनुसार नेपालमा सामान्यतया प्रि–मनसुन अवधिमा औसत २२६.३ मिलिमिटर वर्षा हुने गर्दछ । तर, यस वर्षको तथ्याङ्क अनपेक्षित रह्यो । यो सिजनमा ३३९.७ मिलिमिटर वर्षा रेकर्ड भएको छ, जुन सामान्य अवस्थाको तुलनामा १४५.५ प्रतिशत बढी हो ।
विभागले सन् १९८१ देखि देशभरका १२६ वटा वर्षा मापन केन्द्रहरूको तथ्याङ्कलाई आधार मानेर प्रि–मनसुनको विश्लेषण गर्दै आएको छ । सोही अभिलेखका आधारमा यस वर्षको वर्षा विगत ४५ वर्षकै उच्च र असामान्य रहेको विभागले पुष्टि गरेको छ ।
पछिल्लो २४ घण्टाको विवरण हेर्दा पूर्वी नेपालको झापा, अनारमनी–बिर्ता क्षेत्रमा सबैभन्दा बढी २०८ मिलिमिटर वर्षा मापन गरिएको छ । मौसम विज्ञानको भाषामा २०० मिलिमिटरभन्दा बढी वर्षा हुनुलाई ‘अति भारी वर्षा’ मानिन्छ ।
त्यस्तै, झापा, इलाम, मोरङ, सुनसरी र सिन्धुलीका धेरैजसो केन्द्रहरूमा लगातार भारी वर्षा भइरहेको छ ।
पश्चिम नेपालको कास्की, लमजुङ र गोरखाका विभिन्न पहाडी क्षेत्रमा पनि उल्लेखनीय वर्षा रेकर्ड गरिएको छ । तर लगातारको वर्षाका बाबजुद हालसम्म ठूलो जनधनको क्षति भने नभएको स्थानीय प्रशासनले जनाएको छ ।
मौसमविद्हरूका अनुसार यतिबेला वर्षा देशभर समान रूपमा नभई सीमित क्षेत्रमा केन्द्रित भइरहेको छ, जसका कारण कतै अति भारी वर्षा त कतै तुलनात्मक रूपमा कम पानी परिरहेको छ ।
पूर्वी नेपालबाटै मनसुन भित्रिने तयारीमा रहेकाले अबका दिन झन् संवेदनशील हुने देखिन्छ । जमिन भिजिसकेकाले अब थोरै पानी पर्दा पनि बाढी, पहिरो तथा डुबानको जोखिम निकै बढ्ने भन्दै विभागले नदी तटीय र पहाडी क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन विशेष आग्रह गरेको छ ।



प्रतिक्रिया