अमेरिकाले सम्झौता उल्लङ्घन गरे प्रतिकार गर्ने इरानको चेतावनी


तेहरान । इरानले अमेरिका शान्ति सम्झौताबाट विचलित भए वा त्यसको उल्लङ्घन गरे पूर्वनिर्धारित योजनाअनुसार प्रतिकारात्मक कदम चालिने चेतावनी दिएको छ ।

 इरानको राष्ट्रिय सुरक्षा परिषद्ले एउटा विज्ञप्ति जारी गर्दै यस्तो चेतावनी दिएको हो । इरानी सरकारी सञ्चारमाध्यम आईआरआईबीका अनुसार परिषद्ले जारी गरेको वक्तव्यमा इरानी जनताको सम्पूर्ण अधिकार पुनस्र्थापित नभएसम्म आफूहरू नरोकिने उल्लेख गरिएको छ ।

‘यदि अमेरिकाको तर्फबाट कुनै पनि प्रकारको विचलन वा सम्झौताको उल्लङ्घन भयो भने, पूर्वनिर्धारित योजनाअनुसार त्यसको प्रतिउत्तर दिइनेछ,’ वक्तव्यमा भनिएको छ । 

परिषद्ले सम्झौता कार्यान्वयनप्रति सतर्क रहने जनाउँदै राष्ट्रिय हित र सार्वभौमिकताको रक्षा आफ्नो प्रमुख प्राथमिकता रहेको जनाएको छ । रासस