काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सरकारले मुलुकको अर्थतन्त्र सुधार गर्न नसकेको टिप्पणी गरेका छन्। उनले अर्थतन्त्र सुधारमा केन्द्रित हुनुपर्ने सरकारको ध्यान अन्य विषयमा अल्झिएको आरोप लगाएका छन्।
प्रमुख प्रतिपक्षी दलका तर्फबाट सरकारका कामकारबाहीबारे धारणा सार्वजनिक गर्दै थापाले मुलुकको अर्थतन्त्र अहिले पनि दबाबमा रहेको र प्राकृतिक विपत्तिका कारण राष्ट्रिय ढुकुटीसमेत प्रभावित भएको बताए।
‘अहिले हाम्रो अर्थतन्त्र ठीक छैन। फागुन अगाडि ठीक थियो म भन्दिनँ, ठीक थिएन। प्राकृतिक विपत्तिका कारण राष्ट्रिय ढुकुटी दबाबमा छ। यस्तो बेलामा फोकस अर्थतन्त्रमा हुनुपर्ने होइन ?’ उनले प्रश्न गरे।
उनले मुलुकमा विश्वासको संकट बढ्दै गएको दाबी गर्दै सरकारको नीतिका कारण कर्मचारी, व्यवसायी तथा विभिन्न निकायमा त्रासको वातावरण बनेको बताए।
‘यी सबको कारण विश्वासको संकट हो। सरकारको पोलिसी यस्तो छैन। सब थुरथुर छन्, कर्मचारी थुरथर, व्यवसायी थुरथर। अहिले प्रहरीको हालत हेर्नुस् त, संवैधानिक निकायको हालत हेर्नुस् त,’ थापाले भने।
उनले शिथिल अर्थतन्त्रलाई सुधार गर्न त्रास सिर्जना गर्ने नभई भरोसा र विश्वासको वातावरण बनाउनुपर्नेमा जोड दिए।
सरकारलाई अर्थतन्त्र सुधारका लागि प्रमुख प्रतिपक्षी दलको सहयोग लिनसमेत उनले आग्रह गरे।
‘शिथिल भएको इकोनोमीलाई तर्साएर होइन, भरोसा र विश्वास दिनुपर्ने हो। अहिले गन्जागोल बनाइदिएर कहीँ कतै केही गर्न सक्दैनौँ,’ उनले भने।
कांग्रेस सरकारलाई आवश्यक सहयोग गर्न तयार रहेको उल्लेख गर्दै थापाले विधेयक पारित गर्नेदेखि अर्थतन्त्र सुधारका काममा सहकार्य गर्न सकिने बताए।
‘यस्तो अपोजिसन पाउनुभएको छ– बिल पास गर्न चाहनुभएको, अध्यादेश ल्याउनै पर्दैन। राष्ट्रिय सभामा हामी ठूलो दल हो। प्रतिनिधिसभामा प्रमुख प्रतिपक्षी हौँ। अर्थतन्त्र सुधारको काम गरौँ भन्नु त हामी सहयोग गर्न तयार छौँ,’ उनले भने।




प्रतिक्रिया