काठमाडौँ । नेपाली राजनीतिको केन्द्रभागमा रहेका तीन प्रभावशाली पात्र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, वरिष्ठ नेता बालेन्द्र शाह र नेपाली कांग्रेसका सभापति गगन थापा एउटै मञ्चमा देखा परेका छन्। रास्वपाको पहिलो महाधिवेशन उद्घाटन सत्रमा देखिएको यो दृश्य केवल शिष्टाचारमा मात्र सीमित थिएन, यसले नेपाली राजनीतिको बदलिँदो समीकरण र शक्ति सन्तुलनको समेत संकेत गरेको छ।
विगत केही समययता रवि लामिछाने र गगन थापाबीचको सम्बन्ध निकै चिसो बनेको थियो। सहकारी ठगी प्रकरणलाई लिएर कांग्रेस सभापति थापाले संसद्देखि सडकसम्म निरन्तर प्रहार मात्र गरेनन्, संसदीय छानबिन समिति गठन गराउन मुख्य भूमिका खेले। यसले रास्वपा र रवि लामिछानेलाई निकै रक्षात्मक बनाएको थियो।
जवाफमा लामिछाने र उनको दलले थापामाथि पूर्वाग्रही बनेको र राजनीतिक प्रतिशोध साँधेको आरोप लगाउँदै आएका थिए। नेताद्वयको यो टकराव केवल नेतृत्व तहमा मात्र सीमित थिएन, सामाजिक सञ्जाल र कार्यकर्ताको तहसम्मै उग्र रूपमा विभाजित बनेको थियो।
गएको फागुन २१ गते सम्पन्न निर्वाचनले रास्वपालाई संसद्को सबैभन्दा ठूलो दलको रूपमा स्थापित गरिदिएपछि राजनीतिको पासा पल्टिएको छ। राजनीतिक रूपमा अब रास्वपालाई उपेक्षा गरेर अघि बढ्न नसकिने यथार्थलाई दोस्रो ठूलो दलका सभापति गगन थापाले राम्रोसँग बुझेका छन्।
यही बदलिँदो शक्तिको जगमा रवि लामिछानेको निमन्त्रणालाई स्वीकार्दै कांग्रेस सभापति थापा शुभकामना दिन चितवन पुग्नुलाई अर्थपूर्ण रूपमा हेरिएको छ। चितवन प्रस्थान गर्नुअघि थापाले सामाजिक सञ्जालमा ‘प्रिय रवि लामिछाने’ शब्दले सम्बोधन गर्दै दिएको शुभकामनाले दुई नेताबीचको तिक्तता मेटिन लागेको संकेत गरेको छ। थापाले जनमतको कदर गर्दै रास्वपालाई लोकतान्त्रिक मूल्य र वैचारिक रूपमा स्पष्ट हुन दिएको सुझावभित्र भावी सहकार्य र रचनात्मक प्रतिपक्षको गम्भीर सन्देश लुकेको छ।
महाधिवेशनको मञ्चमा रवि र बालेन प्रवेश गरेलगत्तै रविले पहिलो हात गगन थापासँगै मिलाउनु र दुवै नेताले हार्दिकता साट्नुले नेपाली राजनीतिमा स्थायी शत्रु र स्थायी मित्र कोही हुँदैन भन्ने उक्तिलाई पुनः पुष्टि गरेको छ।
रास्वपाको ऐतिहासिक महाधिवेशनले रवि–गगन र गगन जस्ता युवा नेतृत्वलाई एउटै मञ्चमा उभ्याएर सकारात्मक राजनीतिक संस्कारको थोरै भए पनि झल्को दिएको छ। तर, यो हार्दिकता केवल उद्घाटन सत्रको शुभकामना मन्तव्यमा मात्र सीमित रहन्छ वा नयाँ एजेन्डा र राजनीतिक स्थिरताको लागि सहकार्यको प्रस्थानविन्दु बन्छ, त्यो भने आउने दिनमा उनीहरूका संसदीय र राजनीतिक कदमले नै तय गर्नेछन्।



प्रतिक्रिया