‘रास्वपा राष्ट्रकै संकल्प र आकांक्षालाई न्याय गर्न जन्मिएको हो :’ स्वर्णिम वाग्ले


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा० का उपसभापति डा. स्वर्णिम वाग्लेले आफ्नो पार्टी सिंगो राष्ट्रको संकल्प र आकांक्षालाई न्याय गर्न जन्मिएको बताएका छन् ।
चितवनमा आयोजित महाधिवेशनलाई सम्बोधन गर्दै उपसभापति वाग्लेले रास्वपा कुनै विभाजन वा अप्राकृतिक सम्झौताबाट बनेको दल नभएको स्पष्ट पारे ।

नेपाली समाजमा लामो समयदेखि सञ्चित निराशा, आक्रोश र सकारात्मक परिवर्तनको तीव्र आकांक्षाकै कारण रास्वपाको उदय भएको उनको भनाइ थियो । ‘हामी केवल एउटा दलको महाधिवेशनमा मात्र भेला भएका छैनौँ,’ वाग्लेले भने, ‘हामी त नेपालको राजनीतिक इतिहासको एउटा नयाँ अध्याय लेख्न भेला भएका हौँ ।’
‘जब लोकतन्त्रले आशा जगाउन छाड्यो र नागरिक तथा राज्यबीचको विश्वासको पुल भत्किन थाल्यो, त्यतिबेला परिवर्तनको चाहना विद्रोहमा बदलियो,’ वाग्लेले थपे, ‘र, त्यही विद्रोहको लोकतान्त्रिक आवाज राष्ट्रिय स्वतन्त्र पार्टी बन्न सकेको हो ।’

विगतका राजनीतिक आन्दोलनहरूले मुलुकमा लोकतन्त्र, संविधान र समावेशिताको आधार तयार पारेको भन्दै उनले ती उपलब्धिहरूको सम्मान गर्ने बताए । तर, राजनीतिक उपलब्धिहरू हासिल भए पनि लोकतन्त्रको संस्थागत गुणस्तर भने अपेक्षित रूपमा विकसित हुन नसकेको उनको भनाइ छ ।