काठमाडौँ। नेपाली कांग्रेसको १५औँ महाधिवेशनको नयाँ कार्यतालिकासँगै क्षेत्रीय अधिवेशन तथा महाधिवेशन प्रतिनिधि चयनको समयसीमा दुई दिन थप गरिएको छ।
यसअघि असोज १३ गतेभित्र क्षेत्रीय अधिवेशन सम्पन्न गरी महाधिवेशन प्रतिनिधिको नामावली पठाउनुपर्ने व्यवस्था थियो। तर विभिन्न स्थानमा परेको भारी वर्षाका कारण केही निर्वाचन क्षेत्रमा अधिवेशन तथा प्रतिनिधि छनोट प्रक्रिया प्रभावित भएपछि समय थप गरिएको हो।
कांग्रेस केन्द्रीय निर्वाचन समितिले मंगलबार जारी गरेको विज्ञप्तिअनुसार अब असोज १५ गतेसम्म क्षेत्रीय अधिवेशन सम्पन्न गरी महाधिवेशन प्रतिनिधिको नामावली पठाउन सकिनेछ।
संशोधित कार्यतालिकाअनुसार महाधिवेशन प्रतिनिधिको रजिस्ट्रेसन असोज १६ र १७ गते हुनेछ। १५औँ महाधिवेशनको उद्घाटन असोज १८ गते दिउँसो २ बजे काठमाडौँको टुँडिखेलस्थित खुला मञ्चमा हुने तय भएको छ।
त्यसपछि असोज १९ र २० गते बन्द सत्रसहितका अन्य कार्यक्रम सञ्चालन हुनेछन् भने निर्वाचन कार्यक्रम असोज २१ र २२ गते हुने निर्वाचन समितिले जनाएको छ।





प्रतिक्रिया