लिङ्देनले भने, ‘राजा चाहिन्छ भन्नेको भोट पनि रवि र बालेनतिरै गएछ’


चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो ऐतिहासिक राष्ट्रिय महाधिवेशनमा निम्त्याइएका अतिथि नेताहरूको अभिव्यक्ति र त्यहाँका दृश्यहरूले राजनीतिक वृत्तमा नयाँ तरङ्ग पैदा गरेको छ । विशेषगरी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनको एउटा रोचक र तिखो टिप्पणी अहिले चर्चाको केन्द्रमा छ ।
महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्ने क्रममा अध्यक्ष लिङ्देनले राप्रपाको रैथाने एजेन्डा ‘राजसंस्था’ लाई रास्वपाको जनमतसँग जोडेर रोचक खुलासा गरे । सम्बोधनका क्रममा उनले भने, ‘हामीले त जनतालाई विश्वास दिलाउन सकेनौँ, तर राजा चाहिन्छ भन्नेहरूको एउटा ठूलो हिस्साको भोट पनि रास्वपामा आएको छ ।’
लिङ्देनले राप्रपालाई नपत्याएर जनताले रास्वपा र बालेनलाई विकल्प रोजेको स्वीकार्दै थपे, “हाम्रो कुरा नपत्याएकाहरूले बालेनले नै राजा ल्याउँछन् भनेर पनि तपाईंहरूलाई भोट दिएका छन् ।”
आफ्नो सम्बोधनका क्रममा राप्रपा अध्यक्ष लिङ्देनले मुलुकको वर्तमान संकट पात्र बदलिएर मात्रै हल नहुने ठोकुवा गरे । केवल हिजोका नेताहरूलाई गाली गरेर मात्रै निकास ननिस्कने उनको तर्क छ ।
लिङ्देनले भने, “समस्या हिजोका सीमित नेताहरूमा मात्रै होइन, उनीहरूले ल्याएको यो त्रुटिपूर्ण संविधान र विद्यमान संवैधानिक व्यवस्थामा पनि छ, अब यसलाई सुधार्न नयाँ शिराबाट सर्वपक्षीय सहमतिमा जानुको विकल्प छैन ।”
उनले नयाँ शक्तिका रूपमा रास्वपाको उदयलाई राप्रपाले सकारात्मक रूपमा लिएको र रास्वपाले गर्ने हरेक राम्रा काममा आफ्नो पार्टीको पूर्ण साथ रहने प्रतिबद्धतासमेत जनाए । यद्यपि, बाटो बिराएका खण्डमा रचनात्मक रूपमा औँला उठाउन र खबरदारी गर्न राप्रपा पछि नहट्ने चेतावनीसमेत उनले रास्वपा नेतृत्वलाई दिएका छन् ।