चितवन । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पाएको जनसमर्थनलाई वैचारिक र संगठित शक्तिमा बदल्नुपर्ने सुझाव दिएका छन् ।
रास्वपाको पहिलो राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहलाई शुभकामना सन्देश दिँदै नेता ज्ञवालीले पार्टीका सभापति रवि लामिछाने र प्रधानमन्त्री बालेन्द्र शाहको नाम लिँदै उक्त कुरा बताएका हुन् ।
‘रवि र बालेनको प्रशंसाको रूपमा हुर्किएको रास्वपा वैचारिक र संगठित शक्तिमा बदलियोस् । संविधानवाद, विधिको शासन, मौलिक अधिकार, समावेशिता, सामाजिक मूल्य र गरिखानेका लागि राज्य चाहिन्छ भन्ने बाटो रास्वपाले तय गरोस्, मेरो शुभकामना छ,’ ज्ञवालीले भने ।
रास्वपाले संसद् र राजनीतिमा पाएको जनमतलाई असाधारण जनादेशको संज्ञा दिँदै उनले यसले पुराना भनिएका अन्य राजनीतिक दलहरूलाई समेत पाठ सिकाएको टिप्पणी गरे ।
नेता ज्ञवालीले रास्वपाले पाएको जनादेश सुदृढ लोकतन्त्रका लागि प्रयोग हुनुपर्नेमा जोड दिएका छन् । चुनावी उभार र लहरका बीच जनादेश पाउनु एउटा कुरा भए पनि त्यसलाई निरन्तर टिकाइराख्नु उत्तिकै चुनौतीपूर्ण हुने उनको भनाइ थियो ।
रास्वपाका नेताहरूमा काम गर्ने तीव्र हुटहुटी देखिए पनि कतिपय अवस्थामा उनीहरूका कदमहरू अस्वाभाविक देखिने गरेको ज्ञवालीले औंल्याए । नयाँ शक्तिका रूपमा उदाएको दलले आगामी दिनमा थप जिम्मेवार भएर अगाडि बढ्नुपर्ने आग्रहसमेत उनले गरे ।



प्रतिक्रिया