काठमाडौँ । नेपाली राजनीतिको मियो सधैँ युवा विद्रोहकै जगमा घुमिरह्यो । २००७ सालदेखि २०४६, २०६२–६३ हुँदै पछिल्ला हरेक परिवर्तनका छालहरूमा जेनजी अर्थात् नयाँ पुस्ताको रगत र पसिना मिसिएको छ । तर, बिडम्बना ! तिनै परिवर्तनका बाहक सुदूरपश्चिमका घाइते युवाहरू आज उपचार नपाएर छटपटाइरहेका छन् । राज्य उनीहरूको घाउमा मलम लगाउन उदासीन देखिइरहेका बेला नेपाली पत्रकारिता र सामाजिक आन्दोलनका प्रखर व्यक्तित्व एवं स्वतन्त्र नागरिक अभियानका अध्यक्ष ऋषि धमलाले ती ओझेलमा परेका घाइते जेनजी युवाहरूको पक्षमा काठमाडौँबाट एउटा शक्तिशाली तार्किक र भावनात्मक शङ्खनाद गरेका छन् ।
चाबहिलस्थित चलचित्र विकास बोर्डको भव्य सभाहल । जेनजी सडक र युथ फर नेसनको संयुक्त आयोजना एवं स्वतन्त्र नागरिक अभियानको प्रस्तुतिमा सोमबार दिउँसो एउटा ऐतिहासिक दृश्य देखियो । ‘युवाको आवाज, राष्ट्रको भविष्य’ भन्ने मूल नाराका साथ आयोजित विशेष अन्तक्र्रियामा सुदूरपश्चिमका घाइते जेनजी युवाहरूले आफ्ना कष्टकर भोगाइ र राज्यको चरम उपेक्षाको कथा सुनाउँदा हलमा उपस्थित पत्रकार, सामाजिक अभियन्ता र सरोकारवालाका आँखा रसाएका थिए ।
प्राइम टेलिभिजनमार्फत प्रत्यक्ष प्रसारण गरिएको उक्त कार्यक्रमले सरकारलाई पनि झक्झक्याएको छ ।
‘जेनजीको चाहना सुशासन र भ्रष्टाचार अन्त्य हो, अब अभियान देशव्यापी बन्छ’ कार्यक्रममा प्रमुख वक्ताका रूपमा प्रस्तुत भएका स्वतन्त्र नागरिक अभियानका अध्यक्ष ऋषि धमलाले सधैँझैँ आफ्नो ऊर्जाशील र निडर शैलीमा घाइते जेनजी युवाहरूको भावनालाई राष्ट्रिय बहसको केन्द्रमा ल्याइदिए । चर्चित पत्रकार धमलाले दृढताका साथ भने, ‘अहिलेको मुलुकको परिवर्तन यिनै जेनजी पुस्ताका युवाहरूले गरेका हुन् । देश बनाउने क्षमता, सोच, चिन्तन र इमानदारिता यिनै घाइते भाइबहिनीहरूमा छ । तर, सुदूरपश्चिमका कतिपय घाइतेले आजसम्म उपचार पाउन सकेका छैनन्, यो भन्दा ठूलो राज्यको लाचारी अरू के हुन सक्छ ? अब सुदूरपश्चिम र सिङ्गो देश यी जेन्जीहरूको भावनाअनुसार अगाडि बढ्नुपर्छ ।’
धमलाले घाइतेहरूको रोजगारी, स्वास्थ्य र शिक्षामा व्यापक परिवर्तनको खाँचो औँल्याउँदै उनीहरूको न्यायका लागि हरेक तह र तप्कामा पुगेर सहकार्य गर्न आफ्नो अभियान चौबीसै घण्टा तयार रहेको घोषणा गरे । उनले थपे, ‘जेनजीको मुख्य एजेन्डा सुशासन र भ्रष्टाचार अन्त्य हो । सुदूरपश्चिमका घाइतेहरूबाट शुरु भएको यो न्यायको आन्दोलन अब देशैभरि आगोसरी फैलनेछ ।’
आउँदो असार २० गते सरकार गठन भएको सय दिन पुग्दैछ । सोही दिनको सन्दर्भ पारेर स्वतन्त्र नागरिक अभियानले काठमाडौँमा एक विशाल नागरिक सभा आयोजना गर्ने घोषणा धमलाले सोही मञ्चबाट गरे । उनले सुदूरपश्चिमका घाइते युवाहरू र देशभरीका आम नागरिकलाई उक्त सभामा उपस्थित हुन आह्वान गर्दै भने, ‘बालेन सरकारको सय दिन पुगेको दिन हामी नागरिक सभा गर्दैछौँ । त्यो सभामा जेनजी युवाहरूको पीडा के छ र सरकारप्रति उनीहरूको भावना कस्तो छ भन्ने कुराको छर्लङ्ग ऐना देखाइनेछ । राज्यले अब जेनजीको भावना बुझ्नैपर्छ ।’
सुदूरपश्चिम ऐतिहासिक रूपमै राज्यको मूलधारबाट उपेक्षित क्षेत्र हो । त्यहाँ भएका विभिन्न आन्दोलनमा घाइते भएका युवाहरू काठमाडौँ आएर आफ्नो पीडा पोख्न बाध्य हुनुले हाम्रो व्यवस्था र नेतृत्वमाथि ठूलो नैतिक प्रश्न खडा गर्छ ।
खुला संवादमा घाइते युवाहरूले राखेका रचनात्मक सुझावहरूले नीतिगत तहमा ठूलो दबाब सिर्जना गरेको छ । सामाजिक अभियन्ता र युवा प्रतिनिधिहरूको बाक्लो उपस्थितिले यो कार्यक्रम गफ गर्ने थलो मात्र नभई देशमा सकारात्मक परिवर्तनको यात्रालाई थप मजबुत बनाउने एउटा ठोस प्रस्थानविन्दु बनेको छ ।
जब–जब देशमा संकट पर्छ वा नागरिक न्यायबाट वञ्चित हुन्छन्, तब–तब चौथो अङ्ग र सामाजिक अभियन्ताहरू अग्रभागमा उभिनुपर्छ भन्ने कुरा यो अन्तक्र्रियाले पुष्टि गरेको छ । चर्चित पत्रकार ऋषि धमलाको आँट र स्वतन्त्र नागरिक अभियानको यो पहलकदमीले सुदूरपश्चिमका घाइते जेनजी युवाहरूमा नयाँ आशा जगाएको छ । अब हेर्नु यो छ कि, असार २० गतेको नागरिक सभाले तय गर्ने दिशानिर्देश र धमलाको यो कडा चेतावनीलाई सरकारले कत्तिको गम्भीरताका साथ लिन्छ ? तर एउटा कुरा सत्य हो कि जेनजीको भावना नबुझी अब नेपालमा कुनै पनि सरकार टिक्न सम्भव छैन ।



प्रतिक्रिया