महेश बस्नेतले भने- विष्णु पौडेलको गिरफ्तारी राजनीतिक प्रतिशोध, प्रतिकार गराैं


नेकपा (एमाले)का सचिव महेश बस्नेतले उपाध्यक्ष विष्णुप्रसाद पौडेलको गिरफ्तारीलाई राजनीतिक प्रतिशोध भनेका छन्।सामाजिक सञ्जालमा लेख्दै सचिव बस्नेतले फरक राजनीतिक विचार राख्ने नेतृत्वमाथि प्रतिशोध साँधिएको भन्दै यसको प्रतिवाद गर्न पार्टी पंक्तिलाई आह्वान गरेका हुन्।

सचिव बस्नेतले कानुनी राज्यमा तथ्य र प्रमाणको निष्पक्ष परीक्षणपछि मात्र कानुनी प्रक्रिया अघि बढ्नुपर्नेमा जोड दिएका छन्। उनले लेखेका छन्, ‘फरक राजनीतिक विचार राख्ने नेतृत्वमाथि प्रतिशोधको भावनाले प्रेरित भएर गिरफ्तारी गरिनु उचित मान्न सकिँदैन।’

उनले यस घटनालाई केवल एउटा व्यक्तिसँग सम्बन्धित नभई लोकतान्त्रिक अधिकार र विधिको शासनसँग जोडिएको विषयका रूपमा बुझ्न आग्रह गरेका छन्।

बस्नेतले पार्टी कार्यकर्ताहरूलाई ‘कुखुरा मर्‍यो’ भन्दा पनि ‘श्याल पल्कियो’ भन्ने चेतका साथ प्रतिवादमा उत्रन भनेका छन्। ‘आज एक व्यक्तिमाथि भएको अन्याय भोलि समग्र राजनीतिक प्रणालीमाथिको आक्रमण बन्न सक्छ,’ बस्नेतले भनेका छन्।

उपाध्यक्ष पौडेललाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको निर्देशनमा सोमबार सुर्खेतबाट नियन्त्रणमा लिइएको हो। उनलाई आज राति नेपालगञ्जमै राखेर भोलि मंगलबार बिहानको उडानबाट काठमाडौं ल्याउने तयारी प्रहरीले गरेको छ।

विभागले पौडेलको शंकास्पद सेयर कारोबार र विवादित व्यवसायी दीपक भट्टसँगको सम्बन्धबारे अनुसन्धान गरिरहेको छ।पक्राउ पर्नुअघि विभागको टोलीले पौडेलको ललितपुरस्थित भैसेपाटी निवासमा छापा मारेर केही कागजातहरू समेत नियन्त्रणमा लिएको थियो।