डिभिजन वनकार्यालयद्वारा ११ महिनामा ६५ लाख बढी राजस्व सङ्कलन


जुम्ला, १० असार । डिभिजन वन कार्यालय जुम्लाले चालु आर्थिक वर्षको ११ महिनामा ६५ लाख ४१ हजार राजस्व सङ्कलन गरेको छ ।

कार्यालयले चालु आर्थिक वर्षमा राजस्व शीर्षकमध्ये वन क्षेत्रको रोयल्टीमार्फत र ९३ हजार ४००, बेरुजुबाट चार लाख ७५ हजार ५८१, अन्य प्रशासनिक सेवाशुल्कबापत नौ हजार १७५ र अन्य आयमार्फत ५९ लाख ६३ हजार १५० राजस्व सङ्कलन भएको वन अधिकृत तेजेन्द्र रावलले जानकारी दिए । कार्यालयले पछिल्लो समय वनको संरक्षण तथा वन अवरोध नियन्त्रणमा काम गर्दै आएको छ ।

वन डढेलो नियन्त्रण नौ पटक, स्वचालित हाते आरा सूचीकृत एक वटा, फर्निचर उद्योग अनुगमन नियमन ३३ पटक र सामुदायिक वन कार्ययोजना नवीकरण सङ्ख्या १९ रहेको वन अधिकृत रावलले जानकारी दिए ।

सोही अवधिमा करिब जिल्लाबाट ३१ लाख एक हजार ८१३ किलो जडीबुटी निकासी (छोडपुर्जी) भएको छ । जिल्लाभर पाँच हेक्टर वनक्षेत्रको अतिक्रमण रोकथाम गरिएको छ । जिल्लाका आठ स्थानीय तहमा ४६ वनको नयाँ कार्ययोजना बनाएर काम भइरहेको डिभिजन वन कार्यालयका सूचना अधिकारी प्रकाश देवकोटाले जानकारी दिए ।

जिल्लामा सामुदायिक वनको सङ्ख्या २०६ वटा छन् । एक सय २७ कबुलियती र छ वटा निजी वन रहेका छन् ।