होल्डिङ सेन्टर खाली गराउने सरकारको तयारीप्रति राप्रपाको कडा आपत्ति


काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले होल्डिङ सेन्टरमा रहेका सुकुम्बासीहरूलाई रकम दिएर हटाउन खोजिएको भन्दै सरकारको तीखो आलोचना गरेका छन् ।

सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै अध्यक्ष लिङदेनले होल्डिङ सेन्टरमा आश्रय लिइरहेका सुकुम्बासीहरूलाई २५–२५ हजार रुपैयाँ दिएर ठाउँ खाली गर्न जारी गरिएको उर्दीप्रति कडा आपत्ति जनाएका हुन् । सरकारको यो कदमलाई उनले खेदजनक भनेका छन् ।
‘होल्डिङ सेन्टरमा रहेका सुकुम्बासीहरूलाई २५–२५ हजार रुपैयाँ लिएर होल्डिङ सेन्टर खाली गर्न गरिएको उर्दी खेदजनक छ,’ अध्यक्ष लिङदेनले भने, ‘घरवास र आफ्नो कोही नभएकाहरूको पनि सरकार हो ।’
विपन्न र साहाराविहीन नागरिकको अभिभावकत्व ग्रहण गर्नु राज्यको दायित्व भएको स्मरण गराउँदै उनले तत्काल बल प्रयोग वा आर्थिक प्रलोभन देखाएर विस्थापित नगर्न आग्रह गरे । अध्यक्ष लिङदेनले सरकारलाई संवेदनशील बन्न र घरबारविहीन सुकुम्बासीहरूको दीर्घकालीन एवं उचित व्यवस्थापनका लागि ठोस कार्य गर्नसमेत माग गरेका छन् ।