कांग्रेस सभापति थापाले आज विशेष सम्बोधन गर्ने



काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आइतबार विशेष सम्बोधन गर्ने भएका छन् । समसामयिक राजनीतिक परिस्थिति र पार्टीको आगामी कार्यदिशाबारे विशेष सम्बोधन गर्ने भएका हुन् । 

१५औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिले पदबहाली गरेको केही दिनपछि सम्बोधन गर्न लागेका हुन् । पत्रकार सम्मेलनमार्फत राष्ट्रिय तथा आन्तरिक विषयमा पार्टीको आधिकारिक धारणा सार्वजनिक गर्ने जनाइएको छ ।

कांग्रेस केन्द्रीय कार्यालय स्रोतका अनुसार, दिउँसो २ बजे ललितपुरको सानेपास्थित केन्द्रीय कार्यालयमा सभापति थापाको विशेष सम्बोधन कार्यक्रम आयोजना गरिएको छ । उनले सम्बोधन गर्नुअघि प्रमुख पदाधिकारीहरूसँग छलफल गर्ने जनाइएको छ । 

पार्टीभित्र १५औँ महाधिवेशन सम्पन्न भएपछिको पछिल्लो सांगठनिक अवस्था, केन्द्रीय कार्यसमितिको तत्कालीक कार्ययोजना तथा देशको विद्यमान आर्थिक र राजनीतिक परिवेशमा कांग्रेसको भूमिकाबारे सभापति थापाले आफ्नो दृष्टिकोण प्रस्ट पार्ने बुझिएको छ ।