चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीको जारी महाधिवेशनमा मतदानलाई प्रविधिमैत्री र छिटोछरितो बनाउने प्रयास भइरहेको छ। यसै क्रममा मतदानका लागि प्रयोग गरिने भोटिङ मेसिनमा उम्मेदवारहरूको नाम इन्ट्री गर्ने प्रक्रिया विगतको तुलनामा निकै घटाइएको छ। यसपटक नाम इन्ट्री गर्न करिब ६ घण्टा लाग्ने प्राविधिकहरूले जनाएका छन्।
विगतका विभिन्न निर्वाचन तथा महाधिवेशनहरूमा नाम इन्ट्री गर्न १५ घण्टासम्म लाग्ने गरेकोमा प्रविधिको विकास र व्यवस्थापकीय सुधारका कारण अहिले उक्त समय घटेर ६ घण्टामा झरेको हो। प्राविधिक टोली यतिबेला निर्वाचन समितिको अन्तिम नामावलीको प्रतीक्षामा रहेको छ। अन्तिम नामावली प्राप्त हुनासाथ मेसिनमा डाटा फिड गर्ने कार्य सुरु हुनेछ।
मतदान प्रक्रियालाई व्यवस्थित र चाँडो सम्पन्न गर्नका लागि महाधिवेशन स्थलमा ८० वटा भोटिङ मेसिन तयारी अवस्थामा राखिएका छन्। पार्टीको नयाँ नेतृत्व चयनका लागि उत्साहजनक प्रतिस्पर्धा देखिएको छ। रास्वपाको ९९ सदस्यीय केन्द्रीय कार्यसमितिका लागि देशभरबाट ४०० जना भन्दा बढी आकांक्षीहरूले उम्मेदवारी दर्ता गराएका छन्।
निर्वाचन समितिले उम्मेदवारहरूको प्रारम्भिक नामावली प्रकाशन गर्ने तयारी गरिरहेको छ। प्रारम्भिक नामावली सार्वजनिक भएलगत्तै दाबी विरोधका लागि निश्चित समय उपलब्ध गराइनेछ। दाबी विरोधको जाँचबुझ र व्यवस्थापनपछि मात्रै उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन हुनेछ।
अन्तिम नामावली मेसिनमा इन्ट्री भएपछि डिजिटल प्रविधिबाट मतदान प्रक्रिया सुरु हुनेछ।
प्रविधिको अधिकतम प्रयोग गरेर महाधिवेशनलाई पारदर्शी र छिटोछरितो बनाउने रास्वपाको रणनीतिअन्तर्गत डिजिटल भोटिङलाई महत्त्व दिइएको हो । नाम इन्ट्री गर्ने समय घटेसँगै मतदान कार्यतालिका प्रभावित नहुने र समयमै परिणाम आउनेमा प्रतिनिधिहरू विश्वस्त देखिएका छन्।



प्रतिक्रिया