वीरगञ्ज (पर्सा), ११ असार । वीरगञ्ज महानगरपालिकाले कृषि क्षेत्रको आधुनिकीकरणलाई प्राथमिकता दिएको छ ।
महानगरपालिकाका कार्यवाहक प्रमुख इम्तियाज आलमले बुधबार सार्वजनिक गरेको आर्थिक वर्ष २०८३/ ८४ मा कृषि विविधीकरण तथा व्यवसायीकरणका लागि आधुनिक प्रविधिमा आधारित उत्पादनशील कृषि प्रणाली अवलम्बन गर्ने बताएका छन् ।
महानगरपालिकाले मुख्य खाद्यान्न बाली गहुँको उत्पादकत्व बढाउन कृषकलाई ५० प्रतिशत अनुदानमा उन्नत गहुँको बीउ वितरण गर्ने व्यवस्थालाई महत्वका साथ निरन्तरता दिने पनि प्रतिबद्धता व्यक्त गरेको छ ।
कार्यवाहक नगर प्रमुख आलमल जलवायु परिवर्तन तथा रसायनिक मलको उच्चतम प्रयोगका कारण कृषि क्षेत्रमा सिर्जित जोखिम र बालीनालीमा लाग्ने आकस्मिक रोगव्याधि तथा कीरा नियन्त्रणका लागि ‘आकस्मिक बाली संरक्षण कार्यक्रम’ सञ्चालन गरिने उल्लेख गरे ।
नीति तथा कार्यक्रममा भनिएको छ, “कृषि पेसाको विविधीकरण, व्यवसायीकरण र कृषकको आत्मसम्मान अभिवृद्धि गर्न असार १५ लाई धान दिवसको रूपमा मनाउँदै प्राविधिक साक्षरता विस्तार गरिनेछ ।” महानगरपालिकाले ‘नश्ल सुधार र आकस्मिक उपचारः पशुपालनमा वीरगञ्जको नयाँ पूर्वाधार’ नारालाई आत्मसात् गर्दै निःशुल्क पशु सेवा उपचार कार्यक्रम तथा महामारीजन्य र आकस्मिक रोग निवारणका लागि आवश्यक औषधि खरिद र वितरणको न्यायपूर्ण प्रबन्ध पनि मिलाउने भएको छ ।
त्यसैगरी आधुनिक प्रविधिमार्फत पशु सेवा क्षेत्रको सुदृढीकरण गर्न पोर्टेबल (अल्ट्रासाउन्ड) मेसिन, भेटेरिनरी ल्याब सामग्री र सर्जिकल सामग्री खरिद गरी निदान प्रणालीलाई विश्वसनीय बनाउँदै व्यावसायिक पशुपालनलाई प्रवद्र्धन गर्न कृत्रिम गर्भाधारण कार्यक्रमलाई नगरव्यापी रूपमा विस्तार गर्ने महानगरले जनाएको छ ।
‘सफा नाला, स्वस्थ सहरः लामखुट्टे मुक्त वीरगञ्जको रहर’ नारालाइ आत्मसात् गर्दै वर्षातको समयमा हुने डुबान समस्या समाधानका लागि नाला सफाइ कार्यलाई प्राथमिकता दिने महानगरको योजना छ । नाला सफाइमा संलग्न सफाइकर्मीको व्यावसायिक स्वास्थ्य सुरक्षाका लागि सुरक्षात्मक उपकरण उपलब्ध गराउने पनि महानगरको योजना छ ।
‘सहरी क्षेत्रमा डेङ्गु, औलोजस्ता घातक रोगहरूको प्रकोप नियन्त्रणका लागि उच्च गुणस्तरीय औषधि खरिद, स्प्रे र फगिङ मेसिनहरूको व्यवस्थापन गरी लामखुट्टे नियन्त्रणलाई प्रभावकारी बनाइने र त्यस कार्यका लागि दैनिक ज्यालादारी कामदार परिचालन गरी नगरव्यापी अभियान चलाइने’ विषय नीति तथा कार्यक्रममा उल्लेख छ । सार्वजनिकस्थल र सडक किनारका अनावश्यक झारपात न्यूनीकरणका लागि सुरक्षित केमिकल तथा जैविक विधिहरू प्रयोग गरी व्यस्थित सहरीकरणको अवधारणा अवलम्बन गर्ने महानगरपालिकाले जनाएको छ ।
महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाको स्वास्थ्य क्षेत्रमा रहेको योगदानको उच्च कदर गर्दै उनीहरूको क्षमता अभिवृद्धि, सामाजिक सुरक्षा तथा प्रोत्साहन सुविधामा निरन्तरता दिने कार्यवाहक प्रमुख आलमले बताए ।
उनले मातृ तथा नवजात शिशु मृत्युदर न्यूनीकरण गर्न सञ्चालनमा रहेका बर्थिङ सेन्टरहरूलाई आवश्यक उपकरण, दक्ष जनशक्ति तथा एम्बुलेन्स सेवासहित सुविधा सम्पन्न बनाउँदै सुत्केरी आमा, नवजात शिशु, ज्येष्ठ नागरिक तथा नसर्ने रोगबाट प्रभावित व्यक्तिहरूका लागि सामुदायिक नर्सिङ तथा घरदैलो स्वास्थ्य सेवा कार्यक्रम विस्तार गरिने पनि बताए ।



प्रतिक्रिया