प्रचण्ड र माधव किन पुगे शेखरको शरणमा ?


विराटनगर । कोइरालानिवास नेपाली राजनीतिमा थुप्रै ऐतिहासिक चियापान र गोप्य सहमतिहरूको साक्षी बसेको छ। तर, शुक्रबार बिहान अचानक नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल र सह-संयोजक माधवकुमार नेपाल कोइरालानिवासको ढोका ढकढकाउन पुग्नुको राजनीतिक अर्थ र सन्देश भने निकै गहिरो छ।
गगन थापा विशेष महाधिवेशनबाट कांग्रेस सभापति निर्वाचित भएपछि रक्षात्मक बनेका नेता शेखर कोइराला र भर्खरै सम्पन्न आम निर्वाचनपछि संसदमा गणितीय रूपमा खुम्चिएका दुई पूर्वप्रधानमन्त्रीहरूसहितको यो त्रिपक्षीय भेटघाट समसामयिक राजनीतिक कुराकानीमा मात्रै सीमित थिएन, यो त बदलिएको शक्ति सन्तुलनमा कसरी आफ्नो अस्तित्व जोगाउने र नयाँ मोर्चाबन्दीको जग बसाल्ने भन्ने रणनीति रहेको राजनीतिक विश्लेषकहरुको ठहर छ ।
यो भेटघाटमा देखिएका तीनवटै पात्रहरू यतिबेला राष्ट्रिय राजनीतिमा एक्लै अघि बढ्न नसकिने बाध्यतामा छन्।
विशेष महाधिवेशनले गगन थापालाई पार्टीको सर्वोच्च कमान्ड सुम्पिएपछि शेखर कोइराला समूह कांग्रेसभित्र एकाएक ओझेलमा पर्ने जोखिम बढेको छ।
आमनिर्वाचनको परिणामले दाहाल र नेपाललाई पनि निकै ठूलो धक्का दिएको छ। संसदमा सिट संख्या ह्वात्तै घटेसँगै सत्ताको साँचो सधैँ आफ्नो हातमा राखिरहने दाहालको ‘किङमेकर’ भूमिका यसपटक कमजोर भएको छ। यस्तो अवस्थामा कांग्रेस संस्थापनसँग मात्र डिल गर्नुभन्दा शेखर कोइराला पक्षसँग संवादमा रहँदा भविष्यमा आउन सक्ने सम्भावित राजनीतिक संकट वा सत्ता साझेदारीमा शेखर कोइरालाको समूहलाई उपयोग गर्न सकिन्छ कि भन्ने कम्युनिष्ट रणनीति हुन सक्ने विश्लेषकहरुले औँल्याएका छन् ।