काठमाडौं । राजनीतिमा स्थायी शत्रु र स्थायी मित्र हुँदैनन् भन्ने भाष्यलाई चरितार्थ गर्दै वामपन्थी राजनीतिका दुई मुख्य ध्रुव एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपाका सहसंयोजक माधवकुमार नेपाल एउटै मञ्चमा उभिने भएका छन्। जननेता मदन भण्डारीको ७५औँ जन्मजयन्तीको अवसर पारेर आगामी असार १४ गते राष्ट्रिय सभागृहमा आयोजना हुन लागेको विशेष समारोहमा यी दुई शीर्ष नेता आमनेसामने हुन लागेका हुन्।
विगतको तिक्तता र राजनीतिक विभाजनपछि विरलै मात्र एउटै मञ्चमा देखिने गरेका ओली र नेपाललाई एउटै ठाउँमा ल्याउने कडी भने पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी बनेकी छन्। असार १४ गते दिउँसो हुने उक्त समारोहको प्रमुख अतिथिका रूपमा भण्डारी आफैँ उपस्थित हुँदै छिन्।
मदन भण्डारी फाउन्डेसनद्वारा आयोजित सो कार्यक्रममा ओली र नेपाल मात्र नभई वाम राजनीतिको अर्को चल्तापुर्जा शक्ति नेकपाका संयोजक पुष्पकमल दाहालको पनि सहभागिता रहनेछ। यस्तै, पूर्वप्रधानमन्त्री एवं वरिष्ठ नेता झलनाथ खनाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले समेत उक्त समारोहलाई सम्बोधन गर्ने कार्यतालिका तय भएको छ।
पछिल्लो समय फागुन २१ गते सम्पन्न प्रतिनिधिसभाको निर्वाचनमा व्यहोर्नुपरेको राजनीतिक धक्कापछि कम्युनिस्ट पार्टीहरूबीच पुनः एकताको बहसले तीव्रता पाएको छ। विशेषगरी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको भित्री सक्रियतामा नेकपा एमाले र नेकपाबीच एकता गराउने कसरत चलिरहेको पृष्ठभूमिमा यो संयुक्त उपस्थितिलाई राजनीतिक वृत्तमा निकै अर्थपूर्ण रूपमा हेरिएको छ।
यद्यपि, एकताकै विन्दुमा पुगिहाल्न भने अझै केही संवैधानिक र सैद्धान्तिक गाँठो फुत्किन बाँकी रहेको नेताहरू नै स्वीकार गर्छन्। हालै मात्र विराटनगरमा आयोजित प्रदेशस्तरीय बैठकलाई सम्बोधन गर्दै दाहालले एमालेसँग तत्कालै पार्टी एकता सम्भव नभए पनि सडकदेखि सदनसम्म कार्यगत एकता गरेरै छाड्ने उद्घोष गरेका थिए।
पार्टीभित्र र बाहिरको दबाबका बीच हुन लागेको यो उच्चस्तरीय जमघट केवल औपचारिक श्रद्धाञ्जलीमा मात्र सीमित हुनेछैन। मदन भण्डारीको विचारधारा (जनताको बहुदलीय जनवाद) को व्याख्या गर्दै नेताहरूले दिने अभिव्यक्तिले आगामी दिनमा वामपन्थी राजनीतिको नयाँ कोर्स निर्धारण गर्ने अनुमान गरिएको छ।



प्रतिक्रिया