काठमाडौं, असार १२ । भेनेजुएलामा बुधबारको भूकम्पमा झन्डै ६०० जनाको ज्यान गएको अनुमानित तथ्याङ्क सार्वजनिक भएको छ । भूकम्प आउनुभन्दा केही क्षणपहिले भेनेजुएलाका धेरै सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले आफ्नो एन्ड्रोइड स्मार्टफोनमा चेतावनी सूचना प्राप्त गरेको बताएका छन् ।
गुगलको ‘एन्ड्रोइड’ र एप्पलको ‘आईओएस’ दुवैमा सरकारबाट भूकम्प, बाढी पहिरोजस्ता सङ्कटकालीन सूचना देखाउने विकल्प छ । कुनै पनि बिषयको बारेमा खोजीगर्ने गुगलले गत वर्ष आफ्नो प्रणालीको बारेमा विस्तृत जानकारी दिएको थियो, जसले विश्वभरका अर्बौँ एन्ड्रोइड स्मार्टफोनको प्रयोग गरी भूकम्प पत्ता लगाउँछ ।
– काम कसरी गर्छ ? –
लगभग सबै स्मार्टफोनमा ‘एक्सेलरोमिटर’ नामक गतिशील सेन्सर हुन्छ, जसले फोन घुमाउँदा स्क्रिन घुमाउने जस्ता काम गर्छ ।गुगलले सन् २०२५ जुलाईमा लेखेको ब्लग पोस्ट अनुसार, “त्यही सेन्सरले भूकम्पबाट आउने जमिनको कम्पन पनि पत्ता लगाउन सक्छ।”
एक्सेलरोमिटरले भूकम्पको सुरुवाती छिटो ‘पी’ वेभलाई पहिचान गर्छ र कम्पनको जानकारी गुगलको सर्भरमा पठाउँछ ।“धेरै रिपोर्टहरूलाई छिटो क्रस–रेफरेन्स गरेर प्रणालीले ‘भूकम्प गइरहेको’ पुष्टि गर्दछ र यसको स्थान तथा म्याग्निच्युड अनुमान गर्छ,” गुगलले भनेको छ।
गुगलबा अनुसार यसको उद्देश्य भनेको ढिलो र बढी क्षति गर्ने ‘एस’ वेभ मानिसहरूमा पुग्नुअघि सकेसम्म धेरैलाई चेतावनी दिनु हो । गुगलले दुई चरणको चेतावनी प्रदान गर्छ । यसको ‘सावधान (वि अवेअर)’ ले कमजोर कम्पनको चेतावनी दिन्छ भने अत्यधिक शक्तिशाली भूकम्पमा ‘कदम चाल (टेक एक्सन)’ ले पूरै स्क्रिनमा असर देखाउँछ र फोन नसुनिने अवस्था (साइलेन्ट मोड) मा राखिएको भए पनि ठूलो आवाज बज्छ ।
– प्रणाली कति प्रभावकारी छ ? –
गुगलले गत वर्ष बताएअनुसार, यस प्रणालीले सन् २०२१ अप्रिलपछि दुई हजारभन्दा बढी सम्भावित खतरनाक भूकम्प पत्ता लगाई सात करोड ९० लाखभन्दा बढी व्यक्तिगत फोनमा चेतावनी पठाएको छ । यसले पहिलेको तुलनामा धेरै मानिसहरूलाई पूर्व चेतावनी दिने अवसर दिएको छ, तर कहिलेकाहीँ समस्या पनि आएको छ ।
सन् २०२३ को फेब्रुअरीमा टर्की र सिरियामा भएको विनाशकारी भूकम्पमा झन्डै ६० हजार जनाको मृत्यु हुनुअघि एन्ड्रोइड फोनहरूले चेतावनी दिन सकेका थिएनन् । यसको समाधान खोज्दै गुगलले पछि आफ्नो एल्गोरिदम अपडेट गरेको बताएको छ । कम्पनीले सन् २०२५ फेब्रुअरीमा ब्राजिलका केही एन्ड्रोइड प्रयोगकर्तालाई गलत चेतावनी पठाएकोमा माफी पनि मागेको थियो ।
यो हप्ता भेनेजुएलामा सयौँ मानिसहरूले एक्समा गुगलको प्रशंसा गरेका छन् । केहीले भवनबाट बाहिर निस्कन चेतावनी आएको भन्ने भिडियो पनि सेयर गरेका छन् यद्यपि यो दावीसहितको भिडियोबारे पुष्टि गर्ने आधारको खोजी भइरहेको छ ।
–एप्पलको दावी–
सरकारी चेतावनीबाहेक एप्पलले आफ्नो वेबसाइटमा अमेरिका र ताइवानका प्रयोगकर्ताहरूले अन्य ‘चेतावनीमूलक यन्त्र” बाट भूकम्पको सूचना पाउन सक्ने बताएको छ ।समाचार तयार पार्दासम्म एप्पलले यो प्रणाली कसरी काम गर्छ भन्ने प्रश्नको जवाफ दिएको छैन । आईफोन कम्पनीले गुगलजस्तो वितरित डिटेक्सन प्रणालीका लागि आफ्ना प्रयोगकर्ताको फोन प्रयोगमा लगाएको छैन ।
तर विश्वभरका करोडौँ आईफोनहरूले आफूले प्राप्त गरेको चेतावनीलाई नजिकका अन्य एप्पलका उपकरणमा मोबाइल सिग्नल वा वाइफाइ नभए पनि सङ्केत पठाउन सक्छन् । जसले जीवन बचाउने सूचना पुग्न मद्दत गर्न सक्छ ।



प्रतिक्रिया