कलाकार सरु कार्की : बैंकिङ क्षेत्रसँगै कला क्षेत्रमा निरन्तर सक्रिय


घनश्याम एन्टिना,काठमाडौं । सिन्धुपाल्चोक जिल्लाको सुनकोसी–३ मा जन्मिएकी सरु कार्की यतिबेला बैंकिङ क्षेत्र र मोडलिङ दुनियाँ दुवैमा आफ्नो छुट्टै पहिचान स्थापित गर्दै अघि बढिरहेकी एक उदीयमान प्रतिभा हुन्। हाल काठमाडौंमा बसोबास गर्दै आएकी कार्की आफ्नो मेहनत, आत्मविश्वास र निरन्तर प्रयासकै बलमा आजको स्थानसम्म आइपुगेकी बताउँछिन्।
बुवा दान बहादुर कार्की र आमा सारदा कार्कीबाट प्राप्त माया, संस्कार र प्रेरणाले आफ्नो जीवनयात्रामा महत्वपूर्ण भूमिका खेलेको उनी सम्झिन्छिन्।

फाइनान्स विषयमा एमबीएस पूरा गरेकी सरुले उच्च शिक्षा हासिल गर्दै करियर निर्माण र आफ्ना सपना साकार पार्ने उद्देश्यसहित काठमाडौंको यात्रा तय गरेकी थिइन्। हाल उनी एनएमबी बैंकमा कार्यरत छिन्।


व्यावसायिक रूपमा बैंकिङ क्षेत्रमा आबद्ध हुँदाहुँदै पनि उनले आफ्नो रुचि र क्षमतालाई मोडलिङ क्षेत्रमा समेत विस्तार गरेकी छन्। विद्यार्थी जीवनदेखि नै स्टेज कार्यक्रम, नाटक तथा नृत्यमा सक्रिय सहभागिता जनाउँदै आएकी सरु विस्तारै कलाकारितातर्फ आकर्षित भइन्। यही रुचिले उनलाई मोडलिङ क्षेत्रमा प्रवेश गरायो।


तीजका गीतहरूमा नृत्यमार्फत सुरु भएको उनको कला यात्रा निर्देशक राजु गिरिले निर्देशन गरेको ‘पिन्जडाको चरी’ टेलिफिल्ममार्फत थप फराकिलो बन्यो। यस अनुभवले उनलाई अझ आत्मविश्वासी बनाउँदै अगाडि बढ्न ऊर्जा प्रदान गरेको उनी बताउँछिन्।


हालसम्म उनले ‘हेर गाउँ छातीभरी’, ‘रातो रातो सिन्दूर’ लगायतका म्युजिक भिडियोमा अभिनय गरिसकेकी छन् भने ‘मायाको गाउँ’ र ‘टेम्के’ जस्ता चलचित्रमा मुख्य भूमिका निर्वाह गरेर आफ्नो अभिनय क्षमतालाई प्रमाणित गरिसकेकी छन्। त्यस्तै, ‘मिसेस नेपाली इन्टरनेशनल’ जस्ता सौन्दर्य प्रतियोगितामा सहभागिता जनाउँदै उनले आफ्नो व्यक्तित्व विकास र प्रस्तुति क्षमतालाई अझ निखार्ने अवसरसमेत पाएकी छन्।


आगामी योजनाबारे बोल्दै सरु भन्छिन्— बैंकिङ क्षेत्रमा निरन्तरता दिँदै मोडलिङ र सामाजिक सेवामा सक्रिय रहने आफ्नो लक्ष्य रहेको छ। विशेषगरी महिला सशक्तीकरण, आत्मविश्वास अभिवृद्धि तथा व्यक्तित्व विकासका क्षेत्रमा प्रेरणादायी भूमिका खेल्ने उनको चाहना छ।


व्यस्त बैंकिङ पेशासँगै मोडलिङ र सामाजिक गतिविधिमा सक्रिय रहनु सहज नभए पनि समय व्यवस्थापन, लगनशीलता र दृढ इच्छाशक्तिका कारण सम्भव भएको उनको अनुभव छ। उनी भन्छिन्, “यदि चाहना र मेहनत छ भने, कुनै पनि क्षेत्रलाई सँगसँगै अघि बढाउन सकिन्छ।” बैंकिङ र कला— दुई फरक क्षेत्रमा समान रूपमा सक्रिय रहँदै सरु कार्की आजको पुस्ताका लागि प्रेरणादायी उदाहरणका रूपमा स्थापित भइरहेकी छन्।