यूएई जाने श्रमिकको पीसीसी प्रमाणीकरण शुल्क घटाइयो, भिजिट र बिजनेस भिसामा एटेस्टेसन नचाहिने


काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई) जाने नेपाली श्रमिकको पुलिस क्लियरेन्स सर्टिफिकेट (पीसीसी) प्रमाणीकरणमा लाग्दै आएको शुल्क घटाइएको छ।

त्यस्तै, भिजिट र बिजनेस भिसामा यूएई जाने नेपाली नागरिकका लागि नेपाल सरकारले जारी गरेको पीसीसी मात्र भए पुग्ने भएको छ। अब उक्त पीसीसीको थप प्रमाणीकरण आवश्यक नपर्ने नेपाल वैदेशिक रोजगारी संघका महासचिव हिराबहादुर डाँगी (हरि) ले जानकारी दिए ।

उनका अनुसार नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष तथा पदाधिकारी सम्मिलित प्रतिनिधिमण्डलले यूएईका राजदूतसँग गरेको भेटवार्तापछि यस्तो निर्णय भएको हो।

भेटका क्रममा संघले वैदेशिक रोजगारीका लागि यूएई जाने नेपाली श्रमिकको पीसीसी प्रमाणीकरणमा लाग्दै आएको शुल्क पूर्ण रूपमा मिनाहा गर्न अनुरोध गरेको थियो।

जवाफमा यूएईका राजदूतले आन्तरिक सुरक्षासम्बन्धी कारणले पीसीसी प्रमाणीकरणको व्यवस्था नै खारेज गर्न नसकिने स्पष्ट पारेका थिए।

यद्यपि, आफ्नो क्षेत्राधिकारभित्र रहेर प्रमाणीकरण शुल्क घटाउन सकिने प्रतिबद्धता राजदूतले व्यक्त गरेका थिए। सोही प्रतिबद्धताअनुसार आज(सोमबार)देखि लागू हुने गरी पीसीसी एटेस्टेसन शुल्क घटाइएको संघले जनाएको छ।

भिजिट र बिजनेस भिसामा यूएई जाने नेपाली नागरिकका हकमा नेपाल सरकारले जारी गरेको पीसीसी मात्र पर्याप्त हुने र थप प्रमाणीकरण आवश्यक नपर्ने संघले जनाएको छ ।