काठमाडौं । वरिष्ठ पत्रकार तथा स्वतन्त्र नागरिक अभियान नेपालका संयोजक ऋषि धमलाले नेपालको मौलिक तथा परम्परागत खेलकुदको संरक्षण, प्रवर्द्धन र विकासका लागि सबै पक्षको साझा पहल आवश्यक रहेको बताएका छन्।

शनिबार काठमाडौंको शिफल, गौशालामा आयोजित `प्रथम मौलिक तथा परम्परागत खेलकुद प्रतियोगिता २०८३´ मा प्रमुख अतिथिका रूपमा सहभागी हुँदै धमलाले यस्ता कार्यक्रमले नेपाली मौलिक पहिचान जोगाउन महत्वपूर्ण भूमिका खेल्ने बताए ।

उनले कार्यक्रममा सहभागी भएपछि मौलिक र परम्परागत खेलहरूको संरक्षण तथा विकासमा अझ व्यापक रूपमा काम गर्नुपर्ने आवश्यकता रहेकोे बताए । `यस्ता प्रतियोगिताले हाम्रो मौलिक खेलप्रति नयाँ पुस्ताको आकर्षण बढाउने मात्र होइन, सांस्कृतिक पहिचानलाई पनि जीवन्त राख्छ,´उनले भने।

धमलाले आगामी दिनमा पनि यस्ता कार्यक्रम निरन्तर आयोजना हुनुपर्नेमा जोड दिँदै मौलिक खेलहरूको संरक्षण, व्यवस्थापन र प्रवर्द्धनमा सरकारले विशेष प्राथमिकता दिनुपर्ने धारणा राखे।
परम्परागत खेलकुदलाई केवल मनोरञ्जनका रूपमा नभई नेपाली समाजको इतिहास, संस्कृति र पहिचानसँग जोडिएको सम्पदाका रूपमा हेर्नुपर्ने उनको भनाइ छ ।

नेपाल अल स्पाेर्टस् हबकाे आयाेजनामा भएकाे प्रतियाेगितामा बुद्धिचाल,डन्डिबियो, डोरी तान्ने,छेलो हान्ने, बाघचाल तथा हाँडी फुटाउने जस्ता मौलिक एवं रैथाने अेलहरु सञ्चालन गरिएको थियो ।



प्रतिक्रिया