नवलपुर (नवलपरासी), १४ असार । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को बुलिङटारका किसानहरू विविधिकृत खेतीतर्फ आकर्षित भएका छन् । यहाँका किसानले मुख्यबालीका रूपमा अदुवा, बेसार लगाएका छन् भने सहायक बालीका रूपमा चिप्लीभिन्डी र मकैबाली लगाएर आम्दानी गर्दैछन् ।
बुलिङटार–१ ढाडबेँसीका किसान टकबहादुर खण्डलुकले चार रोपनी क्षेत्रफलमा बेसारखेती गरेका छन् । “मैले बेसारखेतीसँगै बारीमा भिन्डी र मकैखेतीसमेत गरेको छु”, उनले भने, “जसले गर्दा मलाई थोरै जमिनमा पनि धेरै उत्पादन गर्न सहयोग पुगेको छ ।” उनले तरकारीका रूपमा भिन्डी बजारमा बिक्री हुने र मकै बुङ्गुरको लागि दाना बन्ने गरेको बताए ।
“हामीले पहिलेपहिले एक ठाउँमा एउटामात्रै खेती गर्ने गरेका थियौँ, जसबाट धेरै आम्दानी गर्न सकिँदैनथ्यो”, उनले भने, “अहिले त बाली विविधिकृत खेतीका कारण एकसाथ धेरै प्रकारका खेती गरेर आम्दानी गर्न सफल भएका छौँ ।”
डाढबेँसी पहाडी क्षेत्र भएकाले यहाँ अदुवा र बेसार राम्रो उत्पादन हुने उल्लेख गर्दै बेसार मानाको १०० मा बिक्री हुने गरेको बताए । त्यस्तै, अदुवा पनि सिजनमा ६० मा बिक्री हुने गरेको भन्दै उनले वैशाखदेखि असोजसम्म अदुवाको राम्रो मूल्य पर्ने बताए । यहाँका किसानले व्यक्तिगत रूपमा विविधिकृत खेतीसँगै सामूहिक रूपमा समेत खेती गर्दै आएका छन् ।
मङ्गलादेवी कृषक समूहकी सदस्य लक्ष्मी श्रेष्ठले सामूहिक रूपमा १० रोपनी क्षेत्रफलमा अदुवा र बेसार लगाएको बताइन्। “हामी १५ जना मिलेर पाखो बारीमा सामूहिक खेती गरेका छौँ”, उनले भनिन्, “हामीले मुख्य बालीका रूपमा अदुवा र बेसार लगाएका छौँ भने सहायक बालीका रूपमा मकै र भिन्डी लगाएका छौँ ।”
समूहमा मिलेर काम गर्दा काम गर्न सहज र छिटो भएको उल्लेख गर्दै उनले सामूहिकताको भावनासमेत वृद्धि भएको बताइन् । “सामूहिक खेतीबाट उत्पादनमात्रै बढेको छैन, हामीमा नेतृत्व सीपसमेत बढेको छ”, उनले भनिन्, “समूहमा मिलेर काम गर्न पनि सिकेका छौँ ।” किसानले लगाएको सामूहिक र विविधिकृत खेती गर्दा स्थानीय प्रजातिका बालीहरू लगाउँदै आएको उनले बताइन्।
डाढबेँसीका किसानहरू अहिले अदुवाको बूढी (रोपेको अदुवा उम्रिएपछि जमिनमुनिबाट निकालिने पुरानो अदुवा÷बीउ अदुवा) निकाल्न व्यस्त छन् । अकलादेवी कृषक समूहकी उपाध्यक्ष मैना विकले अदुवाको बूढी निकालेर बिक्री गर्दा यसबाट मनग्य आम्दानी हुने गरेको बताइन् । “पहिला हामीले अदुवा लगाएर यत्तिकै छाड्ने गरेका थियौँ, बूढी माटोमा कुहिएर सकिन्थ्यो”, उनले भनिन्, “हामीले बाली विविधिकृतबारे तालिम लिएपछि बूढी अदुवा निकालेर बिक्री गर्दै आम्दानी गर्न थालेका छौँ ।”
उनको समूहले पनि पाँच रोपनी क्षेत्रफलमा अदुवा र बेसारखेती गरेको छ । “अहिले अदुवा र बेसार गोडमेलको बेला भएको छ”, उनले भनिन्, “गोडमेलसँगै अदुवाको बूढी पनि निकालेर भण्डारण गर्दैछौँ ।” बाली विविधिकृत खेती सुरु गरेपछि यहाँका किसानहरूको जीवनस्तरमा सुधार आएको विकले बताइन् । “पहिला खेती गर्दा हामीलाई घरमै खान मुस्किल हुने गरेको थियो”, उनले भनिन्, “अहिले त अदुवा र बेसार बारीमा मकै र भिन्डीबाट अतिरिक्त आम्दानी पनि गर्न सफल भएका छौँ ।”
बुलिङटार गाउँपालिकाकी पूर्वउपाध्यक्षसमेत रहेकी विकले विविधिकृत खेतीका लागि पालिका र कारितास नेपालले सहयोग गरेको बताइन् ।
“हामीले स्थानीय तर उन्नत जातका बीउहरू पाएका छौँ”, उनले भनिन्, “योसँगै कृषि प्राविधिकहरू बारीमै आएर खेती हेर्ने तथा हामीलाई प्राविधिक विषयमा सहजीकरण गर्दै आउनुभएको छ ।” यहाँका किसाले अहिले अदुवा र बेसारसँगै जीविकोपार्जनका लागि मुसुरो, केराउ, गहत, बोडी, सिमी, काउली, भिन्डी, करेला, काँक्रा, फर्सीलगायतका खाद्यान्न लगाउन थालेका विकको भनाइ छ ।



प्रतिक्रिया