के रास्वपा र श्रम संस्कृतिको भयले मिल्न लागेका हुन् त कम्युनिस्ट ?


काठमाडौं । नेपाली कम्युनिस्ट आन्दोलनको एउटा स्थापित चरित्र छ– जुट्दा ‘संसारका मजदुर एक होऊ भन्ने, फुट्दा ‘एकले अर्काको अस्तित्व नै समाप्त पार्न’ उद्यत हुने। तर, जननेता मदन भण्डारीको ७५औँ जन्मजयन्तीका अवसरमा राष्ट्रिय सभागृहको एउटै मञ्चमा देखिएको दृश्यले राजनीतिक वृत्तमा नयाँ तरंग पैदा गरेको छ। हिजोसम्म एकले अर्कालाई राजनीतिक रूपमा सिध्याउने कसम खाएका र सार्वजनिक मञ्चहरूबाट तल्लो स्तरको गालीगलौजमा उत्रिएका शीर्ष कम्युनिस्ट नेताहरू आज एकाएक ‘मिल्नुको विकल्प छैन’ भन्दै आत्तिएको स्वरमा मिलनको वकालत गर्न थालेका छन्।
नेकपा संयोजक पुष्पकमल दाहालले पार्टी एकता विस्तारै गरे पनि सहकार्य नगरे भयानक दुर्घटना हुने चेतावनी दिइरहँदा सहसंयोजक माधवकुमार नेपालले कम्युनिस्टहरूको गल्तीको गम्भीर आत्मसमीक्षा र आत्ममन्थनको वकालत गरे। अर्कातर्फ, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिगमन पराजित गर्न वामपन्थी र लोकतान्त्रिक शक्ति मिल्नुपर्ने तर्क गरेका छन् भने झलनाथ खनालले आमचुनावको शर्मनाक पराजयको हिसाबकिताब देखाउँदै सिट संख्याको अङ्कगणित केलाएका छन्।
अब प्रश्न उठ्छ– के यी वामपन्थी नेताहरूको दम्भ साँच्चिकै घटेकै हो त ? के कम्युनिस्टहरू साँच्चै देश र सिद्धान्तका लागि मिल्न लागेका हुन् कि यसको पछाडि कुनै नयाँ भयले काम गरिरहेको छ ?
गालीगलौजको त्यो विरासत
आज भयानक दुर्घटनाको दुहाई दिने कम्युनिस्ट नेताहरूको विगत कोट्याउने हो भने उनीहरूबीचको तीतोपन कुनै वैचारिक मतभेद मात्र थिएन, बरु व्यक्तिगत अहंकारको लडाइँ थियो। तत्कालीन नेकपा विभाजन र त्यसपछिका दिनहरूमा यिनीहरूले एकले अर्कालाई गरेका प्रहारका केही उदाहरण यस्ता छन्–
ओली भर्सेज प्रचण्डः केपी शर्मा ओलीले प्रचण्डलाई सार्वजनिक रूपमै अस्थिरताका संवाहक र विदेशीको इसारामा चल्ने नेताको आरोप लगाएका थिए। उनले प्रचण्डलाई भीरबाट खस्न लागेको गाईलाई राम-राम भन्न सकिन्छ, काँध थाप्न सकिँदैन सम्म भन्न भ्याए। उता प्रचण्डले ओलीलाई तानाशाह, प्रतिगमनको मतियार र सङ्घीयताविरोधी भन्दै सिंहदरबार र बालुवाटारबाट सडकमा पछारिदिएको अहंकारपूर्ण अभिव्यक्ति पटक–पटक दिएका थिए।
ओली भर्सेज माधव नेपाल–झलनाथः ओलीले माधव नेपाललाई आफ्नै पार्टीको सरकार ढाल्ने गद्दारको संज्ञा दिँदै लाजसरम पचेका मान्छेहरू भनेका थिए। उनले झलनाथ खनाललाई उमेर पुगेर बुद्धि सठियाएकोसम्म भन्न बाँकी राखेनन्। बदलामा माधव नेपालले ओलीलाई हिटलरको नेपाली अवतार र अहंकारको धरहरा भन्दै उनको राजनीतिक अवसान निश्चित भएको दाबी गर्थे।
यसरी हिजो एकले अर्काको सातो लिने कम्युनिस्ट नेताहरु आज कुन जादुले मञ्चमा अँगालो हाल्ने स्थितिमा पुगे ? अथवा
किन आत्तिए कम्युनिस्ट नेताहरू ?
कम्युनिस्ट नेताहरूको यो हृदय परिवर्तन कुनै वैचारिक सुझबुझ वा देशप्रतिको अचानक जागेको प्रेम होइन। यसको मुख्य कारण चुनावी परिणाम, जनस्तरमा बढेको आक्रोश एवं रास्वपा र श्रम संस्कृति जस्ता नयाँ राजनीतिक शक्तिहरूको उदयबाट सिर्जित भय हो।
विशेषगरी फागुन २१ को चुनावपछि नेपाली राजनीतिको तस्बिर बदलिएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी र भुइँमान्छेको मुद्दा उठाउने श्रम संस्कृति जस्ता नयाँ दलहरूको उभारले परम्परागत कम्युनिस्ट घटकहरू पूर्णरूपमा झस्किएका छन्।
जनताको बदलिँदो मनोविज्ञान, पुराना दलहरूप्रतिको चरम वितृष्णा र डेलिभरीको खोजीले गर्दा युवा पुस्ता कम्युनिस्टका लामा र जडसूत्रवादी भाषण सुन्न छाडेर नयाँ विकल्पतिर आकर्षित भएको छ। माधव नेपालले स्वीकारेको ‘हामीले जनताको बदलिँदो मनोविज्ञानलाई बुझ्न सकेनौं’ भन्ने भनाइले यही डरलाई पुष्टि गर्छ।
के साँच्चिकै एकता होला त ?
प्रचण्डले मदन भण्डारीको जनताको बहुदलीय जनवाद (जबज) लाई गतिशीलताको नाममा पुनर्व्याख्या गर्दै एमालेसँग वैचारिक निकटता देखाउने प्रयास त थालेका छन्, तर यिनीहरूबीच दिगो एकता हुनेमा राजनीतिक विश्लेषकहरू शङ्का व्यक्त गर्छन् किनकि ओली, प्रचण्ड र माधव नेपाल तीनै जना आफूलाई सर्वोपरी ठान्छन्। दोस्रो पुस्तालाई नेतृत्व हस्तान्तरण गर्ने सवालमा कसैको पनि तयारी छैन। झलनाथ खनालले गणितीय फाइदा हेरेर एकताको वकालत गरे झैँ यदि पुनः कम्युनिस्ट एकता भयो भने त्यो चुनाव जित्ने र सत्ताको अंकगणितीय खेलमा रुमल्लिने रणनीतिक गठबन्धन मात्र बन्ने खतरा बढी छ। माथिल्लो तहमा नेताहरू स्वार्थ मिल्दा मिल्ने र नमिल्दा फुट्ने गर्दा तल्लो तहका कार्यकर्ता र आम जनतामा कम्युनिस्ट पार्टीको विश्वसनीयता गुमेको छ।
अहिले कम्युनिस्ट नेताहरूको दम्भ घटेको होइन, बरु नयाँ राजनीतिक शक्तिहरूको रापले उनीहरूको दम्भलाई केही समयका लागि ओत लाग्न बाध्य पारेको हो। ‘भारतमा कम्युनिस्ट सिध्याइयो, नेपालमा पनि सिध्याउने षड्यन्त्र हुँदैछ’ भन्दै प्रचण्डले दिएको वैदेशिक दबाब र फासिज्मको हौवा वास्तवमा आफ्नो राजनीतिक धरातल जोगाउने रक्षात्मक रणनीति मात्रै हो।
यदि कम्युनिस्टहरूले साँच्चै नै जडता त्यागेर, आत्मालोचना गर्दै आफूलाई नसच्च्याउने हो भने चुनावी अङ्कगणित मिलाउन र आफ्नो साइज ठूलो बनाउनका लागि गरिने ‘अप्राकृतिक मिलन’ले उनीहरूको ओरालो यात्रालाई रोक्न सक्ने देखिँदैन। रास्वपा र श्रम संस्कृति जस्ता नयाँ दलहरूको चुनौती सामना गर्न उनीहरू मिल्न त खोज्दैछन्, तर यो एकता ‘सैद्धान्तिक’भन्दा बढी भय र बाध्यताको उपज देखिएको राजनीतिक विश्लेषकहरुको ठहर छ।