बग्दाद, १४ असार । मध्यपूर्व युद्ध समाप्त गर्न शान्ति वार्ता चलिरहेको अवस्थामा पनि रणनीतिक महत्वको स्ट्रेट अफ हर्मुज माथि इरानको नियन्त्रणलाई कुनै चुनौती दिएमा इरानले यसको सशक्त प्रतिकार गर्ने बताएको छ ।
रणनीतिक महत्वको स्ट्रेट अफ हर्मुज माथि इरानको नियन्त्रणलाई कुनै चुनौती दिएमा तनाव बढ्ने इरानका विदेशमन्त्रीले आइतबार चेतावनी दिएको हो ।
“इस्लामिक गणतन्त्र इरानले अघि बढाइरहेको भन्दा फरक वा नयाँ व्यवस्था अपनाउने कुनै पनि प्रयासले हर्मुज जलडमरु पुनः खोल्ने प्रक्रियालाई जटिल बनाउने, ढिलाइ गर्ने र तनाव बढाउने मात्र काम गर्नेछ, जसलाई हामीले पछिल्ला दुई रातमा देखिसकेका छौँ,” इरानी विदेशमन्त्री अब्बास अराघचीले बगदादको भ्रमणका क्रममा गरेको पत्रकार सम्मेलनमा भने ।
तेहरानका शीर्ष कूटनीतिज्ञले हालैका दिनमा दुवै पक्षबीच आक्रमणको आदानप्रदान भएपछि सबै पक्षलाई ‘समझदारी पत्रलाई पालना गर्न र यसबाट विचलित नहुन’ आह्वान गरेको हो ।
विदेशमन्त्री अराघचीले अमेरिकी आक्रमणको जवाफमा खाडी क्षेत्रमा रहेका अमेरिकी आधारहरूमा इरानी आक्रमणपछि आइतबार खाडी देशहरूसँग सुरक्षा ढाँचा निर्माण गर्न पनि आह्वान गरे ।
“हामीले यस क्षेत्रका सबै देशहरूलाई समेट्ने र क्षेत्र बाहिरका कुनै पनि देशको उपस्थिति वा हस्तक्षेपबिना नयाँ सुरक्षा ढाँचा निर्माण गर्नुपर्छ,” अब्बास अराघचीले भने ।



प्रतिक्रिया