करोडौँको सस्तो अनुदान कि मल, बीउ र उचित मूल्य ? सरकार अलमलमा परेको एमालेको आरोप


काठमाडौँ । एमाले महासचिव शंकर पोखरेलले सरकारले किसानलाई करोडौँको सस्तो अनुदान बाँड्नुको साटो समयमै मल, उन्नत बीउ र उत्पादित वस्तुको उचित मूल्य ग्यारेन्टी गर्न माग गरेका छन् । २३औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सवका अवसरमा शुभकामना सन्देश दिँदै महासचिव पोखरेलले कृषि क्षेत्रमा राज्यको प्राथमिकता संकुचित बन्दै गएको आरोप लगाएका हुन् ।
यसवर्ष अनियमित वर्षा र खडेरीको उच्च सम्भावना औँल्याउँदै महासचिव पोखरेलले किसानलाई सम्भावित ठूलो नोक्सानीबाट जोगाउन सरकारकै अग्रसरतामा कृषि बिमाको पूर्ण सुनिश्चितता गरिनुपर्ने जोड दिए ।
सरकारले हालै कृषि क्षेत्रमा २ करोड रुपैयाँभन्दा बढी लगानी गर्ने व्यावसायिक फर्महरूलाई आकर्षक अनुदान दिने घोषणा गरेको प्रति लक्षित गर्दै उनले यो नीतिले वास्तविक र सीमान्तकृत किसानलाई नछुने स्पष्ट पारे ।
‘व्यावसायिकता र आधुनिकीकरणका लागि ठूलो लगानीमा अनुदान दिनु आफैँमा नराम्रो कदम त होइन,’ महासचिव पोखरेलले आफ्नो सन्देशमा प्रश्न गरेका छन्, ‘तर मुख्य प्रश्न के हो भने के आम नेपाली किसानको हैसियत त्यति ठूलो लगानी गर्न सक्ने खालको बनेको छ र ?’

उनले थपे, ‘बहुसंख्यक साना र मझौला किसानको हैसियतभन्दा निकै माथि उठेर गरिएको यस्तो घोषणाले वास्तविक हलो जोत्ने किसानलाई कुनै प्रभाव पार्दैन ।’
भौतिक रूपमा संसारले जतिसुकै आर्थिक र प्राविधिक समृद्धि हासिल गरे पनि मानवजीवनका लागि खाद्यान्नको आधारभूत महत्त्व कहिल्यै नघट्ने उनको जिकिर थियो । नेपाली अर्थतन्त्रको मेरुदण्ड मानिएको कृषि क्षेत्र र यसमा अहोरात्र खट्ने मझौला तथा साना किसानहरू अझै पनि राज्यको वास्तविक प्राथमिकतामा पर्न नसक्नु विडम्बनापूर्ण रहेको पोखरेलले बताए ।
सरकारले सस्तो लोकप्रियताका लागि ठूला अनुदानका गफ गर्ने तर किसानले धान रोप्ने बेलैमा मल र बीउ नपाउने अवस्थाको अन्त्य नभएसम्म कृषिमा आत्मनिर्भरता गफमा मात्र सीमित हुने उनको भनाइ छ ।