‘जनताको मूल्याङ्कनमा अब्बल बन्नूस्’– सभामुख अर्याल


काठमाडौँ । मुलुकको सर्वोच्च नीतिनिर्माण तह संसद् र त्यहाँ प्रतिनिधित्व गर्ने जनप्रतिनिधिहरूको भूमिकामाथि जनस्तरबाटै प्रश्न उठिरहेका बेला प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले सांसदहरूलाई आत्मसमीक्षा र आचरण सुधारका लागि कडा आग्रह गरेका छन् । लाखौँ मतदाताको विश्वास र भरोसा जितेर संसद्‌को रोस्टमसम्म पुगेका सांसदहरूले जनअपेक्षाअनुरूप आफूलाई जिम्मेवार र उत्तरदायी बनाउनुपर्नेमा सभामुखले जोड दिए ।
सङ्घीय संसद् सचिवालयद्वारा सिंहदरबारमा आयोजित सांसदहरूका लागि दुईदिने विशेष अभिमुखीकरण कार्यक्रमको उद्घाटन गर्दै सभामुख अर्यालले संसद्को गरिमा बढाउन जनप्रतिनिधिहरूको व्यवहार अनुकरणीय हुनुपर्ने स्पष्ट पारे ।
‘तपाईंहरूका हरेक गतिविधिलाई जनताले नजिकबाट नियालिरहेका छन् र मूल्याङ्कन गरिरहेका छन्,’ सभामुख अर्यालले सचेत गराउँदै भने, ‘त्यसैले जनविश्वास कायम राख्ने गरी मात्र काम गर्नुहोस् ।’
मुलुकको पछिल्लो राजनीतिक समीकरण र परिवर्तनसँगै संसद्‌मा नयाँ अनुहारहरूको बाहुल्यता छ । यसै यथार्थलाई स्वीकार गर्दै सभामुख अर्यालले नयाँ हुनु आफैँमा कमजोरी नभए पनि विधि र प्रक्रिया सिक्न अनिवार्य रहेको औंल्याए । उनको भनाइ थियो, “हामीमध्ये धेरै सांसद नयाँ छौँ । नयाँ हुनु भनेको देश, कानुन वा विधि नबुझेको भन्ने होइन तर सङ्घीय संसद्को कार्यप्रणाली र प्रक्रियामा अझ अभ्यस्त हुन बाँकी छ ।”
उनले अभिमुखीकरणबाट प्राप्त ज्ञानलाई संसद्को कार्यकक्षमा प्रभावकारी ढंगले लागू गर्नसमेत निर्देशन दिए ।
सांसदहरूको मूल्याङ्कन उनीहरूको भाषणले मात्र नभएर समयपालन, अनुशासन र जिम्मेवार व्यवहारबाट हुने सभामुखको दृढ मत थियो । संसद्को प्रभावकारिता र मर्यादा बढाउन सांसदहरू स्वयं अनुशासित हुनुपर्नेमा उनले जोड दिए ।
तर, सांसदहरूलाई संसदीय प्रक्रिया सिकाउने उद्देश्यले आयोजना गरिएको महत्त्वपूर्ण अभिमुखीकरण कार्यक्रममै धेरैजसो सांसदहरू अनुपस्थित देखिएपछि सभामुख अर्यालले सार्वजनिक रूपमै गम्भीर असन्तुष्टि व्यक्त गरे ।