श्रमजीवी किसानको पसिनाबाटै समृद्धिको आधार निर्माण हुन्छः दाहाल


काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले देशको आर्थिक रूपान्तरण र आत्मनिर्भरताका लागि कृषि क्षेत्रको आमूल परिवर्तन अपरिहार्य रहेको बताएका छन् । राष्ट्रिय धान दिवस तथा रोपाइँ दिवस २०८३ का अवसरमा सम्पूर्ण नेपाली श्रमजीवी जनसमुदायमा शुभकामना व्यक्त गर्दै उनले सो कुरा बताएका हुन्।

संयोजक दाहालले कृषि नेपाली अर्थतन्त्रको मुख्य मेरुदण्ड मात्र नभई नेपाली समाजको प्रगतिशील रूपान्तरणको जगसमेत भएको उल्लेख गरे ।
धान दिवसको सन्दर्भ जोड्दै संयोजक दाहालले श्रमजीवी वर्गको हितका लागि सरकारले तत्काल चाल्नुपर्ने कदमहरूमा जोड दिनुभएको छ। उनले मुख्यतः
मल र बीउको ग्यारेन्टी, सिँचाइ र आधुनिक कृषि सामग्रीको सहज उपलब्धता, किसानमैत्री नीतिलगायतमा जोड दिएका छन्।
दाहालले राष्ट्रिय धान दिवस औपचारिकता मात्र नभएर कृषि र श्रमप्रतिको संस्कृतिलाई सम्मान गर्ने उत्सव भएको स्पष्ट पारेका छन्। उनले यस दिवसले उत्पादन वृद्धिको नयाँ राष्ट्रिय सङ्कल्प जगाउने र कृषि क्षेत्रको समग्र रूपान्तरणका लागि उत्प्रेरणा दिने विश्वास व्यक्त गरेका छन्।