अमेरिका र इरानबिच जारी तनाव मत्थर बनाउन सहमति


काठमाडौँ । अमेरिका र इरानबिच पछिल्ला केही दिनयता बल्झिएको तनाव शान्त बनाउन दुवै पक्ष सहमत भएको छ। अमेरिकी अधिकारीहरूलाई उद्धृत गर्दै बीबीसीले जनाएअनुसार दुवै राष्ट्रले तत्कालका लागि थप आक्रमण नगर्ने र तनाव कम गर्ने बारेमा सहमत भएका हुन्। 

यो सहमति विशेष गरी हर्मुज जलसन्धी र आसपासका क्षेत्रमा भएका श्रृङ्खलाबद्ध आक्रमण र एकअर्कालाई युद्धविराम उल्लङ्घनको आरोप लगाएको पृष्ठभूमिमा आएको हो। 

अमेरिकी सञ्चारमाध्यम सीबीएस न्युजसँग कुरा गर्दै एक अमेरिकी अधिकारीले अब खाडी क्षेत्रका जलमार्गहरूबाट व्यापारिक जहाजहरू’स्वतन्त्र रूपमा’ आवतजावत गर्न पाउने बताएका छन्। साथै, युद्धलाई स्थायी रूपमा अन्त्य गर्नका लागि वार्ता प्रक्रियालाई निरन्तरता दिइने समेत ती अधिकारीले जानकारी दिए।

यसैबिच, कूटनीतिक पहलहरू पनि तीव्र पारिएका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको अनुरोधमा कतारको राजधानी दोहामा भोलि एउटा बैठक आयोजना हुन लागेको जानकारी दिएका छन्। उनले आफ्नो सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’ मार्फत उक्त बैठकको पुष्टि गरे पनि विस्तृत विवरण भने खुलाएका छैनन्। यद्यपि, इरानी उप-परराष्ट्रमन्त्री काजेम घारिबाबादीले भने यस हप्ता प्राविधिक वार्ताको कुनै योजना नरहेको भन्दै विरोधाभाषपूर्ण बयान दिएका छन्।

पछिल्लो तनावको सुरुवात गत जुन १७ मा दुई देशबिच भएको १४ बुँदे समझदारी पत्रको पालना नहुँदा भएको हो। उक्त समझदारीमा सबै मोर्चामा सैन्य कारबाही अन्त्य गर्ने र इरानले ६० दिनसम्म व्यापारिक जहाजहरूको सुरक्षित मार्ग सुनिश्चित गर्ने उल्लेख थियो।

तर, गत बिहीबार इरानी क्षेप्यास्त्रले एक कार्गो जहाजमा प्रहार गरेपछि दुवै पक्षबिच पुनः भिडन्त सुरु भएको थियो। बदलामा अमेरिकाले इरानी सैन्य लक्ष्यहरूमा हवाई आक्रमण गरेको थियो भने इरानले पनि कुवेत र बहराइनस्थित अमेरिकी सैन्य आधार शिविरहरूमा आक्रमण गरेर जवाफ दिएको थियो।