पाकिस्तानमा चिकित्सकको विरोध प्रदर्शन जारी, स्वास्थ्य सेवा अवरुद्ध


बलुचिस्तान (पाकिस्तान) १६ असार । महिला सहकर्मी माथि भएको एसिड आक्रमणको विरोधमा डाक्टरहरूले जारी गरेको विरोध प्रदर्शनका कारण सरकारी अस्पतालहरूमा ओपिडी सेवा बन्द हुँदा पाकिस्तानको बलुचिस्तान प्रान्तमा हजारौं बिरामीहरू पीडित भएको जनाइएको छ ।

लामो समय सम्म ओपिडी सेवाहरू बन्द हुँदा धेरै मानिसहरु नियमित स्वास्थ्य सेवाबाट बञ्चित भएको जनाइएको छ भने अधिकाशं महिला, बालबालिका तथा वृद्ध वृद्धाहरु प्रभावित भएका छन् ।

पाकिस्तानी पत्रिका डनका अनुसार पाकिस्तान मेडिकल एसोसिएसन (पीएमए) क्वेटा जोन र यङ डाक्टर एसोसिएसन (वाईडीए) को संयुक्त नेतृत्वमा भएको विरोध प्रदर्शन २१ औं दिनमा प्रवेश गरेको छ । आपतकालीन सेवाहरू, अपरेसन थिएटर र डायलिसिस युनिटहरू सञ्चालनमा रहेका भए पनि परामर्श तथा फलो –अपका लागि आएका हजारौं बिरामीहरू चिकित्सा सेवा बिना घर फर्कन बाध्य भएका छन् ।

विज्ञप्ति जारी गर्दै पीएमए क्वेटा जोनले एसिड आक्रमणको अनुसन्धान गर्न सरकार असफल भएको उल्लेख गरेकोमा गम्भीर चिन्ता व्यक्त गरेको छ । घटना भएको करिब तीन हप्ता बितिसकेको भए पनि अधिकारीहरूले जिम्मेवार व्यक्तिहरूको पहिचान गर्न वा चिकित्सा समुदायले उठाएका मागहरूको पर्याप्त जवाफ दिन असफल भएको एसोसिएसनले जनाएको छ ।

पिएमएले आक्रमणको पारदर्शी, निष्पक्ष न्यायिक र पारदर्शि छानविनका लागि आफ्नो आह्वान दोहोरÞ्याएको छ । यसले अनुसन्धान पूरा नभए सम्म प्रान्तीय स्वास्थ्य सचिव र सिभिल अस्पताल क्वेट्टाका मेडिकल सुपरिटेन्डेन्टको उपस्थितिले अनुसन्धानलाई प्रभाव पार्न जनाउदै उनीहरुलाई हटाउन पनि माग गरेको छ ।

एसोसिएसनले ३० जना भन्दा बढी वरिष्ठ डाक्टर र स्वास्थ्य अधिकारीहरू विरुद्ध सुरु गरिएको कारबाहीको आलोचना गर्दै यी उपायहरूलाई चिकित्सा पेशाको लागि अन्यायपूर्ण र अनादरपूर्ण ठहर गरेको डनले प्रकाश पारेको छ ।

गतिरोध जारी रहँदा, पिएमएले आफ्नो अर्को कार्य योजना निर्धारण गर्न सिभिल अस्पताल क्वेट्टामा साधारण सभा बैठक तय गरेको छ ।

डनले रिपोर्ट गरे अनुसार पिएमएले बलुचिस्तानका मुख्यमन्त्री, मुख्य सचिव, प्रान्तीय स्वास्थ्य मन्त्री र बलुचिस्तान उच्च न्यायालयका मुख्य न्यायाधीशलाई तुरुन्तै हस्तक्षेप गर्न अपिल गरेको छ ।