धमलाको उद्घोषः ‘समाचारको मुहान रिपोर्टर्स क्लब छिट्टै खुल्दै’


काठमाडौँ । नेपाली सञ्चार जगतका चर्चित एवं ऊर्जावान् पत्रकार ऋषि धमलाले करिब साढे दुई महिनादेखि बन्द रहेको ‘रिपोर्टर्स क्लब नेपाल’ चाँडै पुनः सञ्चालनमा आउने बताएका छन्। मंगलबार काठमाडौँमा एक विशेष पत्रकार सम्मेलन आयोजना गर्दै क्लबका अध्यक्ष धमलाले इतिहासको हरेक संकटमा देश र जनताको आवाज बनेको रिपोर्टर्स क्लब बन्द हुँदा आफूलाई रातभर निद्रासमेत नपरेको भावुक अभिव्यक्ति दिए।

पत्रकारितामा साढे तीन दशकभन्दा लामो समयदेखि अनवरत क्रियाशील धमलाले चौध वर्षको कलिलो उमेरदेखि नै आफू श्रमजीवी पत्रकार, लोकतन्त्र र विधिको शासनका लागि लड्दै आएको स्मरण गरे।

२०५४ साल चैत १७ गते स्थापना भएको रिपोर्टर्स क्लबको ऐतिहासिक पृष्ठभूमिबारे प्रकाश पार्दै धमलाले क्लबको इतिहास नेपाली राजनीतिको जीवन्त दस्तावेज भएको दाबी गरे।

‘क्लबको पहिलो साक्षात्कारका वक्ता नै सन्त नेता एवं पूर्व प्रधानमन्त्री स्वर्गीय कृष्णप्रसाद भट्टराई हुनुहुन्थ्यो,’ धमलाले गौरवका साथ भने, ‘राजा ज्ञानेन्द्रको प्रत्यक्ष शासनकालमा काठमाडौँमा कर्फ्यु लाग्दासमेत क्लबले जोखिम मोलेर साक्षात्कार गराएको इतिहास छ। भर्खरैको जेनजी आन्दोलनको उत्कर्षका बेला पनि क्लबमा बहसहरू रोकिएनन्।’

उनले सो आन्दोलनलाई आफूले खुला हृदयले साथ दिएको र त्यतिबेला आन्दोलनकै मोर्चामा रहेका वर्तमान गृहमन्त्री सुधन गुरुङसमेत साक्षात्कारका लागि क्लबको मञ्चमा आएको स्मरण गरे।

राष्ट्रिय राजनीतिलाई तरंगित पार्ने कतिपय ठूला निर्णयहरूको साक्षी पनि क्लब नै बनेको धमलाको भनाइ थियो। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले न्युज २४ टिभी र ग्यालेक्सी– फो–के टिभी छाडेर राजनीतिमा होमिएको ऐतिहासिक घोषणा गर्ने थलो पनि रिपोर्टर्स क्लब नै रहेको धमलाले उल्लेख गरे।

नेपाली राजनीति मात्र नभई अन्तर्राष्ट्रिय क्षेत्रका दिग्गज नेताहरू भारतका राजनाथ सिंह, प्रणव मुखर्जी, सीताराम येचुरी, शरद यादव, लालुप्रसाद यादवदेखि विभिन्न देशका राजदूतहरूले समेत क्लबको मञ्च प्रयोग गरेर आफ्नो धारणा राखेको उनले बताए।

ठूला दलका नेताहरूले जनअपेक्षाअनुसार काम गर्न नसक्दा क्लबले सधैं खबरदारी र तिखो वैचारिक बहस गराएको धमलाले दाबी गरे। उनले क्लब टाठा-बाठाहरूको मात्र नभई उत्पीडित, दलित, मधेसी, महिला, राउटे, चेपाङ र वादीलगायत समुदायको साझा चौतारी भएको स्पष्ट पारे।

२०७२ सालको विनाशकारी भूकम्पपछि पुतलीसडकबाट भृकुटीमण्डपमा क्लब सारेको जानकारी दिँदै धमलाले तत्कालीन प्रधानमन्त्री सुशील कोइराला, तत्कालीन समाजकल्याण मन्त्री सीता खड्का र समाजकल्याण परिषद्को समन्वयमा नियमानुसार मासिक ३८,७०० रुपैयाँ भाडा तिरेर क्लब सञ्चालन हुँदै आएको स्पष्ट पारे।

‘हामीले राज्यलाई तिर्नुपर्ने सम्पूर्ण रकम समाज कल्याण परिषद्लाई तिरिसकेका छौँ। धोबीखोलादेखि अन्यत्रका सरकारी जग्गा अतिक्रमण गर्नेहरूविरुद्ध सधैँ खरो रिपोर्टिङ गर्ने ऋषि धमला राज्यको नीति, नियम र कानुन मान्न सधैँ प्रतिबद्ध छ,’ उनले दृढताका साथ भने।

क्लब बन्द रहँदा पत्रकारितामा भर्खरै पाइला चाल्दै गरेको नयाँ युवा पुस्ता समाचारको स्रोत नपाएर सबैभन्दा बढी छट्पटिएको दाबी धमलाले गरे। ‘अब त्यो छट्पटाहट अन्त्य भएको छ, समाचारको मुहान पुनः खुला हुँदैछ,’ उनले भने।

क्लब खुलाउन सहजीकरण गरिदिन उनले प्रधानमन्त्री बालेन साह, मन्त्री सीता वादी तथा समाजकल्याण परिषद्का सदस्यहरूलाई अनुराेध गरे।
क्लबले यसअघि जस्तै पीडित र बिरामीहरूको उपचारका लागि सहयोगी हातहरूसँग समन्वय गरेर रकम संकलन गर्ने परोपकारी कार्यलाई पनि निरन्तरता दिने उनले बताए।

यसैबीच, स्वतन्त्र नागरिक अभियानका अध्यक्ष समेत रहेका चर्चित पत्रकार धमलाले देशको समसामयिक विषय र पत्रकारहरूको हकहितका लागि आगामी चैत २० गते माइतीघर मण्डलामा आयोजना हुने कार्यक्रममा आम पत्रकार तथा नागरिकहरूलाई उपस्थित हुन हार्दिक आग्रहसमेत गरेका छन्। सो दिन बालेन सरकारको सय दिनको समीक्षा हुने पनि धमलाले स्पष्ट पारेका छन् ।

फोटोः दिनेश चौधरी, रिपोर्टर्स नेपाल डट कम